रुस–युक्रेन युद्धका कारण कयौँ देशहरु गरिबीतिर जाने अनुमान : युएनएचसीआर

122

काठमाडौं : संयुक्त राष्ट्र संघीय शरणार्थीसम्बन्धी एजेन्सी युएनएचसीआरले रुस–युक्रेन युद्धका कारण विश्वका थप कयौँ देशहरु गरिबीतिर जाने अनुमान गरेको छ। ​युएनएचसीआरका प्रमुख फिलिप्पो ग्राण्डीले विश्वव्यापी खाद्य सुरक्षा संकट तथा कयौँ मानिसहरु विस्थापित हुने जोखिम बढेको बताए। उनले विश्वभर विस्थापितहरुको संख्या रेकर्ड स्तरमा बढ्ने बताए।

संयुक्त राष्ट्र संघको एक रिपोर्टअनुसार सन् २०२१ को अन्तमा उत्पीडन, संघर्ष, दुव्र्यवहार तथा हिंसाका कारण संसारभरका झण्डै ९ करोड मानिस विस्थापित भएका छन्। त्यसयता युक्रेनमा सुरु भएको युद्धले लाखौँ मानिस भाग्न बाध्य भएका छन्। युक्रेन युद्धले निम्त्याएको खाद्य संकटले विश्वका थप लाखौँ मानिस विस्थापित हुने युएनएचसीआरको दाबी छ। एक पत्रकार सम्मेलनमा ग्राण्डीले रुस–युक्रेन युद्धको कुनै न कुनै प्रभाव हरेक व्यक्तिको घरसम्म पुग्ने बताए।