काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्री जर्नादन शर्माले करका दर अस्वभाविक रुपमा परिवर्तन गरेको भन्दै आपत्ति जनाएको छ। जेठ १४ गते राति आगामी वर्षको बजेटमा पूर्वनासुलाई अर्थमन्त्री शर्माले मनलाग्दी करका दर परिवर्तन गर्ने जिम्मेवारी दिएको सार्वजनिक भएपछि एमालेले आपत्ति जनाएको हो। संसदमा एमाले सांसद योगेश भट्टराईले भने, ‘पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि सूचना सार्वजनिक गरिँदैन। अर्थमन्त्रीले जनघात मात्रै होइन, राष्ट्रघात गर्नुभएको छ। अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्छ।’
भट्टराईले करका दर अस्वभाविक रुपमा हेरफेर गरिएको बारे अर्थमन्त्री शर्माले संसदमा जवाफ दिन माग गरे। ‘यो विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्छ, सत्तारुढ दल र प्रधानमन्त्रीको पनि यस विषयमा ध्यान जाओस्’, उनले भने। सदनमा आफूहरुले अर्थमन्त्रीका बद्नियतबारे उठाउँदै आएको आवाज सही ठहरिएको उनले दावी गरे। बेलायतमा अर्थमन्त्रीले सदनमा बजेट पेश गर्नुअघि चुरोट खाने सांसदलाई व्यग्य गर्दा राजीनामा दिनु परेको स्मरण गराउँदै करको गम्भीयर्ता बुझ्न आग्रह गरे।