जनतालाई शान्ति सुरक्षा दिन नसक्ने भन्दै सांसद विश्वकर्माले गृहमन्त्री खाँणको राजीनामा माग गरेकी

115

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद आशाकुमारी विश्वकर्माले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेकी छन्। जनतालाई शान्ति सुरक्षा दिन नसक्ने भन्दै सांसद विश्वकर्माले गृहमन्त्री खाँणको राजीनामा माग गरेकी हुन्। बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सुर्खेतमा ४ वर्षीया बालिका मृत अवस्थामा भेटिएको, बाँकेको खजुरामा जन्मदिन मनाउन गएकी बालिका ५ जनाको सामूहिक बलात्कारमा परेको घटना टुलुटुलु हेरेर बस्ने काम सरकारले गरेकाले नैतिकताको आधारमा पनि गृहमन्त्री खाँणले राजीनामा दिनुपर्ने तर्क गरिन्।

‘छोरीले जन्म लिनु नै पाप हो त? दिनानुदिन सुनिनसक्नु, हेरिनसक्नु घटना भएका छन। हिजो मात्रै सुर्खेतमा सात वर्षीया बालिका ग्रीष्म विक चार दिनको दिन मृत फेला परेकी छन्। स्कुल हिँडेको, पसल हिँडेको बालिका घर फर्कने ग्यारेन्टी छैन। शान्ति सुरक्षाको प्रत्याभूति हुन सकेन’‚ उनले भनिन्, ‘त्यसैगरी बाँकेको खजुरामा जन्मदिन मनाउन गएकी बालिका पाँचजनाको सामूहिक बलात्कारमा परेकी छन्। यस्तो जघन्य अपराध हुँदा पनि गृहमन्त्री टुलुटुलु हेरेर बस्नु भएको छ। यदि जनताको सुरक्षा दिन नसक्ने, बालिकाको सुरक्षा दिन नसक्ने हो भने गृहमन्त्रीले नैतिकताको आधारमा पनि राजीनामा दिनुपर्छ। होइन भने शान्ति सुरक्षा कायम गर्नु पर्छ।’बालिका बलात्कारको घटना सुन्न नसकिने गरी बढेको भन्दै त्यस्ता जघन्य अपराध हुन नदिन सरकारलाई सचेत समेत गराइन्।