सरकारले दानबाट प्राप्त हुने रगत र रक्त तत्वको मूल्य बढाएको छ

132
सांकेतिक तस्विर

काठमाडौं : सरकारले दानबाट प्राप्त हुने रगत र रक्त तत्वको मूल्य बढाएको छ।स्वस्थ व्यक्तिले सेवाभावले विभिन्न रोग लागेर उपचार गराइरहेका बिरामीलाई चढाउनको लागि दान दिएको रगत बिरामीले पनि निशुल्क पाउनु पर्छ भन्ने आवाज पहिले देखि नै उठिरहेका बेला सरकारले रगतको मूल्य बढाएको हो।सरकारले रगतको मूल्य बढाएको प्रति नेपाल स्वयंसेवी रक्तदाता समाजले बिरोध गरेको छ। एक सय ५० पटक भन्दा बढी रक्तदान गरिसकेका समाजका अध्यक्ष प्रेम सागर कर्माचार्यले रगतको मूल्य बढाएको प्रति विरोध गरेका छन्। ‘दानबाट बिरामीलाई प्रदान गरिने रगतमा सरकारले व्यापार गर्न खोज्यो यसमा हामी बिरोध गर्छाैं, हामीले नि:शुल्क बिरामीलाई दिनु पर्छ भनिरहेको समयमा झन मूल्य तोकेको छ, यो निर्णय फिर्ता नगरे हामीले आन्दोलन गर्छौं’ उनले भने।उनका अनुसार नि:शुल्क दानमा उपलब्ध हुँदै आएको रगत र रगतबाट तयार पारिएको रक्त तत्वहरु बिरामी समक्ष स्वास्थ्य लाभको निमित्त निशुल्क दिने व्यवस्था मिलाउन माग गरिरहेको बेला सरकारले रगतको मूल्य बढाएको प्रति विरोध गरेका हुन्।

निजी अस्पतालहरुकाे आफूखुशी असुली राेक्न मूल्य तोकियोप्रति युनिट रगतको मूल्य ५२५ रुपैयाँ रहेकोमा सरकारले पछिल्लो पटक प्रति युनिट रगतको सेवा शुल्क ८१० देखि अधिकतम १६४० सम्म शुल्क लिन सकिने गरी मूल्य बढाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार रगत र रक्त तत्वहरुको मूल्य बढाइएको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। जसमा रगतको मात्रै नभएर रगत राख्ने ब्याग, ट्रान्सफ्यूजन सेटहरुको समेत मूल्य बढाइएको छ। जसलाई भेराइबल कस्टिङ समेत उल्लेख गरिएको छ। बढाइएको मूल्यमा ब्लड ब्यागको १५० रुपैयाँ उल्लेख छ। यसअघि यसको मूल्य ८० रुपैयाँ थियो। यसअघि ट्रान्सफ्यूजन सेटकाे मूल्य ३० रुपैयाँ रहेकोमा अब त्यसको मूल्य १०० रुपैयाँ कायम गरिएको हो।यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने निजी अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुले आफूखुशी रगतको मूल्य लिने गरेको धेरै गुनासो आएपछि एकरुपताको लागि रगतको मूल्य बढाइएको बताएको छ। प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताका अनुसार हाल बढाइएको रगतको मूल्य सरकारी अस्पतालहरुलाइ नभएर निजी अस्पतालहरुलाई भएको समेत बताए।