मेयर पदका उम्मेदवारको गाडीमा आगजनी

154

बैशाख २३,

विराटनगर : मोरङको बेलबारी नगरपालिकाका मेयर पदका उम्मेदवारको गाडीमा आगजनी भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मेयरको उम्मेदवार रहेका खेमप्रसाद गौतमले घरैमा पार्किङ गरेर राखिएको बा१२च ९३८४ नम्बरको कारमा शुक्रबार अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डे रहेको र उनलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको श्रेष्ठले बताए। प्रहरीका अनुसार बिहानका राति २ बजेतिर घटनाको जानकारी आएको थियो। तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले घटनामा संलग्न भएको आरोपमा पाण्डेलाई पक्राउ गरेको हो। सिसि क्यामेरा फुटेजमा देखिएका युवासँग हुलिया मिलेपछि पाण्डेलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ। मेयरका उम्मेदवार गौतमले पार्टीको झन्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए।