सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसको तर्फबाट शम्भुहरि बास्तोलाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । नेपाली कांग्रेस नेचासल्यान गाउँ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बास्तोलाले गाउँपालिका अध्यक्षमा उम्मेदवारीको दाबी प्रस्तुत गरेका हुन् ।
उम्मेदवारी घोषणा पश्चात नेता बास्तोलाले नेचासल्यान गाउँपालिको समृद्धि र सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय महासमिति सदस्य भइसकेका बास्तोला विश्व हिन्दु महासंघको केन्द्रीय र अन्तर्राष्ट्रिय समितिको महासचिव समेत हुन् । दुईदशक अगाडिदेखि समाजसेवा, राजनीति र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानमा सकृय रहेका बास्तोला विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम पार्टीमा केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारीमा रहेर काम गरेका थिए । वि.सं. २०७० को संविधानसभा सदस्य निर्वाचनमा बास्तोला संविधानसभा सदस्यको लागि समानुपातिक तर्फबाट उम्मेदवार रहेका थिए।
नेपाली कांग्रेस स्थानीय तह घोषणापत्र तयारी समितिका संयोजक बास्तोला बौद्धिक एवं लोकप्रिय नेताको रूपमा स्थापित छन् । गाउँपालिकाको भौतिक पुर्वाधारको विकास सँगसँगै कृषिको आधुनिकीकरण, ब्यवसायीकरण, बजारीकरण गर्ने, मौलिक संस्कृति एवं पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने, शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार, यातायात, सिचाइ र खानेपानीको विषयलाई प्राथमिकतामा राखी स्थानीय स्तरमै दक्ष जनशक्तिको विकास एवं रोजगारीको सिर्जना गरी आत्मनिर्भर र सुशासनयुक्त गाउँपालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।