९४ औँ ओस्कारः ‘कोडा’ उत्कृष्ट फिल्म, विल स्मिथ उत्कृष्ट अभिनेता

264

चैत १४,
काठमाडौं : प्रतिष्ठित फिल्म अवार्ड ओस्कारको ९४ औँ संस्करणमा ‘कोडा’ उत्कृष्ट फिल्म बनेको छ भने विल स्मिथले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन्। अमेरिकाको डल्वि थिएटर, लस एन्जलसमा सोमबार बिहान सम्पन्न अवार्ड कार्यक्रममा ‘कोडा’ उत्कृष्ट फिल्म र स्मिथ उत्कृष्ट अभिनेता बन्दा ‘ड्युन’ले सबैभन्दा धेरै ६ विधामा अवार्ड जितेको हो।

सियान हेडरको लेखन तथा निर्देशनमा बनेको ‘कोडा’ सन् २०१४ को फ्रेन्च फिल्म ‘ला फेमिली बेलाय’को रिमेक हो। कान नसुन्ने परिवारमा जन्मेकी रुवी रोसी जो परिवारको एक मात्र कान सुन्ने र बोल्न सक्ने सदस्य हुन्। गाउने चाहना र परिवारको जिम्मेवारीबीचको घर्षणमा परेकी रोसीको कथामा फिल्म बनेको छ। फिल्ममा एमिलिया जोन्स केन्द्रीय भूमिकामा देखिएकी छन् भने युगेनियो दर्वेज, ट्रोए कोत्सुर, फेर्डिया वाल्स पिलो, डेनियल ड्युराँ, मार्ली माट्लिनलगायत कलाकारको मुख्य भूमिका रहेको छ।उत्कृष्ट फिल्मसँगै कोडाले उत्कृष्ट सहायक कलाकार र उत्कृष्ट अनुवादित पटकथा गरी तीन विधामा अवार्ड जितेको छ।

फ्रान्क हर्बर्टको साइन्स फिक्सन उपन्यासमा आधारित फिल्म ‘ड्युन’ले यस वर्ष सबैभन्दा धेरै ६ विधामा अवार्ड जित्न सफल भएको छ। डेनिस विल्लेन्युभको निर्देशनमा बनेको फिल्मले उत्कृष्ट ओरिजिनल स्कोर, उत्कृष्ट साउण्ड, उत्कृष्ट प्रोडक्सन डिजाइन, बेस्ट सिनेम्याटोग्राफी, बेस्ट फिल्म एडिटिङ र बेस्ट भिजुअल इफेक्ट गरी ६ विधामा अवार्ड जित्न सफल भएको हो। बायोग्राफिकल स्पोर्ट्स ड्रामा ‘किङ रिचर्ड’बाट विल स्मिथले उत्कृष्ट अभिनेताको अवार्ड जित्दा अर्को बायोग्राफिकल ड्रामा ‘द आइज अफ ट्यामी फेय’बाट जेसिका चेस्ताँले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्।

९४ औँ ओस्कारमा सबैभन्दा धेरै मनोनयनमा परेको ‘द पावर अफ द डग’ले उत्कृष्ट निर्देशकको अवार्ड पायो। योसँगै निर्देशक जेन क्याम्पियन ओस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड पाउने दोस्रो महिला बनेकी छन्। यसअघि गत वर्ष मात्रै ‘नोम्याडल्याण्ड’बाट क्लोई जाओले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेकी थिइन्। यस वर्षको उत्कृष्ट विदेशी फिल्म ‘ड्राइभ माई कार’ बनेको छ। हारुकी मुराकामीको कथामा आधारित फिल्म उत्कृष्ट फिल्मसहित ४ विधामा मनोनयनमा परेको थियो। रुसुकी हामागुचीको निर्देशनमा बनेको फिल्म ओस्कारमा उत्कृष्ट फिल्मको मनोनयनमा पर्ने पहिलो जापानी फिल्म पनि हो।