चैत ५,
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली पाएको जनमतको अपमान गरेर संविधानविपरीत चलेपछि वर्तमान गठबन्धन निर्माण भएको बताएका छन्। कांग्रेस काठमाडौँ क्षेत्र नं १० ले कीर्तिपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो गठबन्धन कांग्रेसको चाहना नभई मुलुकलाई निकास दिन समयको माग र मुलुकको आवश्यकताका आधारमा निर्माण भएको हो।’ स्थानीय चुनावमा गठबन्धन के गर्ने भन्ने विषयमा कार्यकर्ताको सुझावको आधारमा केन्द्रीय समिति बसेर आधिकारिक धारणा बनाइने बताए।
मुलुकमा संकट पर्दा कांग्रेसको काँधमा जिम्मेवारी आउने गरेको संकटबाट मुलुकलाई निकास दिन कांग्रेस कुशलतापूर्वक नेतृत्व गरिरहेको दाबी गरे। उनले भने, ‘अरू जस्तो सत्तामा हुँदा एउटा कुरा सत्ता बाहिर हुँदा अर्को कुरा गरेर जनतालाई भ्रममा राख्ने काम कांग्रेसले गर्दैन। कांग्रेस आफ्नो बोलीमा पक्का रहन्छ।’लोकतन्त्रका लागि आजसम्म कांग्रेस खेलेको भूमिका जनता र मुलुकको हितमा कांग्रेसले लिएको अडान जनतासमक्ष लिएर जानुपर्ने बताए।