Tuesday, September 22, 2026
Home समाचार पल शाह प्रकरणमा आयोगको ध्यानकर्षण

पल शाह प्रकरणमा आयोगको ध्यानकर्षण

177

फागुन २०,

काठमाडौं : अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोप लागेपछि भइरहेका प्रचारबाजी तथा प्रदर्शनमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ। शुक्रबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आयोगले अनुसन्धान प्रक्रियामा संयमित भई सघाउन आग्रह गरेको हो। प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा समाजिक सञ्जालहरुमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्ति प्रति आफूहरूको ध्यानाकर्षण भएको र विभिन्न माध्यमबाट अनुगमन तथा सूचना संकलन पनि गरिरहेको आयोगले विज्ञप्तीमा जनाएको छ।

विज्ञप्तिमा लेखिएको छ, ‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ। अधिकारप्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुने सम्भावना रहन्छ।’ यस प्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लेखित न्याय सम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकारसमेत प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ।