महेश खड्का भन्छन्, ‘चोरीको आरोप प्रमाणित नभए म कानुनी उपचारमा जान्छु’

249

माघ २८,

काठमाडौं : चार दिनअघि सार्वजनिक भएको गीत ‘नोगेन’ यतिवेला युट्युब ट्रेन्डिङमा रहेको छ। झण्डै २५ लाख पटक हेरिएको उक्त गीतमा संगीत चोरी भएको आरोप लागेको छ। गीतकार तथा संगीतकार वसन्त सापकोटाले आफ्नो गीत ‘सागरसरि’ को संगीत चोरेको आरोप लगाएका हुन्। नोगेनका गीतकार तथा संगीतकार महेश खड्काले शुक्रबार पत्रकार सम्मेलन गरेर संगीत चोरी भएको प्रमाणित भए जस्तोसुकै सजाए पनि स्विकार्य रहेको बताएका छन्। पत्रकार सम्मलेनमा बोल्दै संगीत चोरिएको जस्तो लाग्दा कानुनी बाटो नअपनाएर मिडियामार्फत आफ्नो चरित्र हत्या गर्न खोजिएकोमा खड्काले आपत्ति जनाएका छन्। आफूले सागरसरिबाट संगीत नचोरेको स्पष्टीकरण पनि दिएका छन्। संगीतमा केही नोट र ताल मिल्नु सामान्य रहेको बताउँदै उनले भनेका छन्, ‘कर्ड र ताल उहाँको पेवा होइन। हामी संसारभरी बनिरहेका तालभित्रबाट गीत संगीत बनाइरहेका हुन्छौँ। संसारमा भएकै सुरहरूबाट गीत संगीत बनाइरहेका छौँ। संसारमा भएकै रागहरू सिकेर गीत संगीत बनाइरहेका हुन्छौँ। हामीले नोट निर्माण गर्ने होइन, नोटभित्र खेल्ने हो।’