ओलीसँगको फोन संवादबारे प्रचण्ड सचिवालयको यस्तो प्रष्टीकरण

147

माघ २८,

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एमाले अध्यक्ष केपी ओलीसँगको कुराकानीबारे प्रष्टीकरण दिएको छ।प्रचण्डले बिहीबार बेलुकी ओलीसँग फोन संवाद गरेको पुष्टि गर्दै सचिवालयले ओली गैरजिम्मेवार रुपमा प्रस्तुत भएको जनाएको छ। ‘हिजो बेलुकी हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबीच फोन सम्वाद भएको हो। अध्यक्ष कमरेड प्रचण्डले, एमसिसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो। यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं। सचिवालयले जारी गरेको प्रष्टीकरणमा भनिएको छ, ‘यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसिसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचनपछि लैजाने कुरा गरौं भन्नुभएको हो।’ तर अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापूर्वक नलिएको सचिवालयले जनाएको छ।’उहाँले बरु तपाईंहरु सङ्ग बहुमत छ, पास गर्नुस्। तर गैर संसदमा रहँदासम्म संसद चल्न भने दिन्नौँ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो। यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन।’ सचिवालयले भनेको छ।