हिलाम्य सडकमा ठेकेदार सांसद जीपछिरिङको फोटो…..

58

भदौ ६,
पोखरा । म्याग्दी बेनीबाट पश्चिमी बेल्ट दरबाङसँग कच्ची सडक ट्रयाक खुल्दा स्थानीयको भुँइमा खुट्टा थिएन । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका सम्झिन्छन्, ‘माओवादी सशत्र संघर्ष चलिरहेकै बेला पनि स्थानीयले सडकका लागि चन्दासमेत उठाएका थिए । माओवादी जनसरकारले पनि सडकको ट्रयाक खोल्न सघाएको थियो । बेनी(दरबाङ सडक खुल्दा स्थानीय खुसीले नाचेका थिए ।’

२०६३ साल असोजमा सडकको ट्रयाक खुलिसक्दा तत्कालीन डेढ दर्जन गाविसवासी हर्षित थिए । बेनी नगरपालिकाको केही वडासँगै मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकामसँग जोड्ने मुख्य सडक नै अहिले यही हो । सडकको ट्रयाक खुल्दा खुसी मनाएका स्थानीय १५ वर्षपछि भने आक्रोसित छन् । बेनी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर बानिया भन्छन्, ‘स्थानीयको खुसी लामो समय टिकेन । सडकको ट्रयाक त खुल्यो तर न नियमित गाडीमा आउ(जाउ गर्न पाए न ढुक्कले निदाउन नै सके ।’

ट्र्याक खुलेपछि पनि पटक-पटक डोजर लगाउनु पर्दा भिरालो माटो खलबलियो । विस्तार र स्तरोन्नति भन्दै ठेक्का लगाएर पनि पनि काम नहुँदा सडककै कारण बर्सेनि पहिरो खसिरहेको छ । ‘बेनी वडा नम्बर ६ को डम्मरा, माझखेत, चत्रेनी, सिंगा, तातोपानी लगायतका गाउँमा सडककै कारण गाउँले जोखिममा परे,’ वडाध्यक्ष बानियाले भने, ‘सडकको भल व्यवस्थापन नहुँदा, जोखिमयुक्त ठाउँमा ध्यान नदिँदा थुपै परिवार निदाउन सक्दैनन् ।’

सडक सुधार गर्न तत्कालीन जिल्ला विकास समितिको ड्रिलिप परियोजना लाग्यो तर प्रभावकारी कार्यान्वयन नै हुन नसकेर फेल भयो । रणनीतिक सडकको रुपमा रहेको बेनी(दरबाङ सडक ७र८ वर्ष अघिदेखि नै स्तरोन्नति तथा पिच नै गर्ने योजना अगाडि बढ्यो ।

बेनी-दरबाङ सडकलाई म्याग्दीको ‘लाइफलाइन’ सडक भनियो । सरकारले पनि यसलाई रणनीतिक सडक भन्यो । २०७४ मा ठेक्कामा नै गएपछि भने चार पालिकाका स्थानीय ढुक्क थिए, अब भने बाटोकै कारण दुःखका दिन गए । तर, ठेक्का सम्झौताको म्याद गुज्रिएर दुई पटक थपेर पनि बाटोको काम नभएपछि स्थानीय आन्दोलनमै उत्रिएका छन् । स्रोतः अनलाइन खबर