एमालेको विधान संशोधन गर्ने प्रस्ताव

139

साउन २५,
काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो । स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश हुने नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।

उनले स्थायी कमिटीले पारित गरेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने स्थायी कमिटी बैठकले निर्णय गरेको बताए । संशोधन प्रस्तावमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने उल्लेख छ । विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको संख्या २२५ जना हुने प्रस्ताव गरिएको छ । यस्तै अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था गरिएको छ ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।
यसैगरी पार्टीमा उपाध्यक्षको सङ्ख्या घटाउने र सचिवको सङ्ख्या बढाउने प्रस्ताव पारित विधानमा गरिएको छ । यस्तै विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइने समेत उल्लेख गरिएको छ ।
पारित प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेपछि लागू हुनेछ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल गठन गरेको थियो । संस्थापन पक्षले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित रहँदै आएको छ । आन्तरिक विवाद समाधान नहुँदासम्म बैठकमा सहभागी नहुने नेपाल पक्षको अडान छ ।