हाम्रो नेपालमा: कुखुराको भाले मर्दा गाउँले मलामी गए

165

साउन २२,
दाङ । जिल्लाको तुलसीपुरमा कुखुराको भाले मरेपछि त्यसका मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोडेका छन्। तुलसीपुर उपमहानगरपालिका- १५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्पराअनुसार गाउँलेहरू मलामी गई स्थानीय टैवा खोलामा लगि अन्तिम संस्कार गरेका छन्। ‘मैले १९ वर्ष १० महिनासम्म पालेको भाले साउन १६ गते मर्‍यो,’ सुवेदीले भने, ‘त्यो खबर थाहा पाएर गाउँलेहरू जम्मा हुनुभयो, २५ जना मलामी भएर टौवा खोलामा भालेको अन्तिम संस्कार गर्‍यौं।’

भाले मरेपछि मानिसको मृत्युजस्तै गरी गाउँलेहरूले खटमा भालेलाई बोकेर खोलासम्म पुर्‍याएका थिए। ‘गाउँलेहरूले जलाउन आवश्यक पर्ने काठ पनि लिएर आउनुभएको थियो,’ सुवेदीले भने, ‘भालेलाई जलाएर सकेपछि हिन्दु परम्परा अनुसार मैले खोलामै कपाल पनि मुण्डन गरेको हो।’
धेरै लामो समयसम्म पालेको भालेलाई परिवारको सदस्यजस्तै मानेर आफू र गाउँलेले त्यसको मृत्यु पछि शोक मनाएको सुवेदीले बताए। ‘धेरै लामो समयसम्म पालेको हुँदा भाले परिवारको सदस्यजस्तै थियो,’ सुवेदीले भने, ‘त्यसैले त्यसलाई काटेर खाने कुरा सोच्नै सकेनौं।’

घरमै जन्मिएर हुर्किएको भाले २० वर्षसम्म पाल्छु भनेर सुवेदीले कहिल्यै सोचेका थिएनन्। सुरूमा उनले (ब्याड) बेलनका रूपमा उक्त भाले पालेर राखेका थिए। एकाध वर्षपछि आफ्नो बुवाको पेन्सन घरमै पठाएर सहयोग गर्ने घोराहीका शिक्षक डोमकान्त अधिकारीलाई खुवाउन भनेर उनले त्यो भाले जोगाएर राखे। अधिकारी आफ्नो घरमा आउलान् र त्यो भाले काटेर खुवाउँला भन्दाभन्दै ५र७ वर्ष बित्यो।

‘अधिकारी सरले जहिल्यै भोलि आउँछु भन्नुभयो, तर कहिल्यै आउनुभएन,’ सुवेदीले भने, ‘मैले उहाँलाई बाटो हेर्दाहेर्दा थप ६र७ वर्ष बित्यो र भाले १४ वर्षको पुग्यो, तर उहाँ आउनु भएन।’

भाले १४ वर्षको पुगेपछि सुवेदीले पनि उक्त भाले नकाट्ने सोच बनाए। त्यसको पछाडि खास कारण थिएन। तै उनलाई एउटा भाले कति वर्ष बाँच्दो रहेछरु भन्ने कौतोहुलता भयो। त्यसैले अब अधिकारी पाहुनाका रूपमा आए पनि अर्कै भाले खुवाउने सोचमा सुवेदी पुगे। सुवेदीको घरमा अधिकारी कहिल्यै आएनन्।

त्यसैले गर्दा भाले बाँचिरहन पायो। त्यस्तो गर्दागर्दै भाले १७ वर्षको पुग्यो। युट्युबरहरूले त्यसको सुइँको पाए। भालेको भिडिओ बनाए। त्यसैले १७ वर्षको पुग्दा सामाजिक सञ्जाल भाले भाइरल बन्यो। त्यही बीचमा भालेले ‘टार्जन’ नाम पनि पायो।

भालेकै कारण सुवेदी पनि चिनिए। त्यसैले सुवेदीले भालेको बारेमा गिनिज बुक अफ वल्ड रकेर्डमा नाम लेखाउन सकिन्छ किरु भनेर प्रयास पनि गर्न खोजेका थिए। तर, आफूले मेलोमेसो पाउन नकेको सुवेदीले बताए। झन्डै २० वर्षमा सुवेदीले घरमा पालेका थुप्रै कुखुरा जन्मिए, हुर्किए, कति बेचे र कति रोगले मरे। उनीहरूका बारे सुवेदीले खासै वास्ता गरेनन्। तर, घरको सबैभन्दा बुढो भाले भने कहिल्यै रोगले थलिएन।

गाउँमा रोग लागेर सबैका कुखुराहरू धेरै पटक स्वाहा भए। असार महिनामा मात्रै सुवेदीले घरमा पालेकामध्ये ४१ वटा कुखुरा रोगले मरे। तर त्यो बुढो भालेलाई रोग लागेन। ‘त्यो भाले खुर्सानी धेरै खान्थ्यो। सायद उसको रोग प्रतिरोधी क्षमता बढ्यो कि,’ सुवेदीले भने, ‘मैले सुनेको छु, खुर्सानीले एन्टिबायोटिकको काम गर्छ रे१’

गत चैततिर मात्रै उक्त भालेको एउटा आँखा पाक्यो। तुलसीपुर बजारमा गएर सुवेदीले औषधी किनेर ल्याए। उपचार गरे। तर, उसको आँखा निको भएन। एउटा आँखा नदेख्ने नै भयो। धेरै बुढो भइसकेको भाले पछिल्लो समय राम्रोसँग हिँड्न पनि सक्दैनथ्यो। सुवेदी आफैंले त्यसलाई खोरमा भित्र(बाहिर गराउँदै आएका थिए।

‘मैले उसको विशेष निगरानी गर्दै आएको थिएँ,’ सुवेदीले भने ‘खाना खाएको छ कि छैन भनेर मैले त्यस को भोजे पनि छामेर हेर्थे, तर,१६ गते बिहान उठेर हेर्दा भाले मरेको अवस्थामा फेला पर्‍यो।’
असारमा ४१ वटा कुखुरा मरेपछि बचेको त्यो एउटै बुढो भाले पनि मरेपछि अब सुवेदीको घरमा एउटा पनि कुखुरा बचेका छैनन्। -सेतोपाटीबाट साभार