साउन ३,
काठमाडौं । ‘चम्सुरी’ नामले सुपरिचित हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ । उनी हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन् । एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् । सहकलाकार तथा नजिककी साथी दिपाश्री निरौलाका अनुसार पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । तर छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन् ।
दिपाश्रीले भनिन्, ‘उहाँले डाक्टरको सल्लाहअनुसार औषधि र खानेकुरामा परहेज गर्दै आउनुभएको थियो, तर आफूलाई युरिक एसिड मात्रै भएको भनेर भन्नुभएको थियो । एक महिनाअघि अस्पताल भर्ना भएपछि पनि उहाँले धेरैलाई थाहा दिन चाहनुभएन ।’अस्पतालमा डाइलसीस चलिरहँदा अस्तिदेखि पल्पसाको स्वास्थ्यमा समस्या आएको चिकित्सकले बताएका छन् । पछिल्लोपटक गरिएको डाइलसीसका क्रममा समस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।
स्वास्थ्य गम्भिर भएपछि आत्तिएकी पल्पसाले कलाकार सुरवीर पण्डितमार्फत केही साथीहरुलाई खबर गर्न लगाएकी थिइन् । सुरवीरबाटै थाहा पाएर आफू आज अस्पताल पुगेको दिपाश्रीले बताइन् ।