असार ७
भक्तपुर । लाखौंले रोजगारी पाएको सार्वजनिक यातायत क्षेत्रलाई समेत यसले कोरोनाको महामारीले गर्दा ठुलो नोक्सानी सहन बाध्य गरायो । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४, स्थायी ठेगाना भएका सुशास लामिछाने अहिले भक्तपुरको कमलविनायक बस्छन् । उनीसंग सार्वजनिक यातायात क्षेत्रमा काम गरेको १५ वर्ष भन्दा लामोे अनुभव छ ।
उनले भने ‘१४वर्षदेखि सहचालक भएर काम गरे, १२ जनालाई रोजगारी दिएको छु तर, अहिले निकै असजिलो भएको छ ।’ विगतमा बैंकबाट लिएको किस्ता तिरेर, सबै खर्च कटाएर घर धान्न सहज हुने गरेको भएपनि अहिले अवस्था निकै तनावपूर्ण भएको उनको भनाई छ ।
ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लि अन्र्तगत लामिछानेको ६ वटा बस छन् । ‘ती बसको किस्ता तिर्न र चालक सहचालकको समस्या समाधान गर्न सक्ने अवस्था भएन’ उनले भने ।
ग्यारीजमा गाडी राखेर लाखौंको लगानी थन्काउन पर्ने अवस्था आउदाँ यातायात व्यवसायीहरुले ठुलो समस्या भोग्नु परेको गुनासो गरेका छन् ।
२०५० सालबाट यातायात क्षेत्रमा काम गर्न थालेका भक्तपुरका ४४ वर्षीय विश्वराम सिमाछ्वाको समस्या पनि उस्तै छ । सार्वजनिक यातायात खुली हाल्यो भनेपनि प्रहरी र प्रशासनले यो भएन त्यो भएन भन्ने गरेकाले संचालन गर्न निकै कठीनाई हुने गरेको उनको अनुभव छ ।
‘मेरै कति साथीहरुले गाडी बेचेर अन्य व्यवसाय सुरु गरे, यस्तै अवस्था रहिरहने हो भने हामी पनि के गर्ने ? भन्ने अवस्थामा पुग्न लाग्यौं’ उनले भने ।
ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लिका संचालक समितका सदस्य तथा यातायात मजदुरका नेता प्रकाश बस्नेतका अनुसार कतिपय मजदुरहरुले पेशा नै परिवर्तन गरे । ‘खाना बस्ने कुराको व्यवस्था गर्न चालक र सहचालक साथीहरुले ज्यामी काम गर्न बाध्य भए,’ बस्नेतले भने ।
बैंकबाट ऋण लिएर बस संचालन गरेकाहरुले अब गाडीनै लगेर साचोँ बुझाउने अवस्था आएको उनको भनाई छ । बैंकले तारन्तार किस्ता बापतको रकम मागिरहेको र व्याजमा केही छुट भनेपनि तिर्न सक्ने अवस्था नभएको बस्नेतको भनाई छ । अघिल्लो वर्ष ९ महिना यो वर्ष २ महिना हुन लागेको काम नभएको यातायात मजदुरहरुको चुलो बाल्ने अवस्था भएन । गतसाल केही राहत बाढेको भएपनि यो पटक पैसा भएन केही गर्न सकिएन, बस्नेतले भने ।
सरकारले व्यवसायीले गाडी खरिद गर्दा लिएको सावाँको व्याज मिनाह गरिदिए केही सहज हुने थियो उनीहरुको भनाई छ । ‘सावाँ त हामी विस्तारै तिर्दै जान्छौं तर, यो परिस्थितीको बेलामा व्याज मिनाह गरिदिए हुने थियो,’ बस्नेतले भने ।
ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लिमा दर्ता भएर हाल ३ सय ४० वटा बसहरु संचालनमा छन् । करिब ७ सय मानिसले प्रत्यक्ष रोजगारी समेत समेत पाएका छन् । ७ रोजगार मानिससंग जोडिएका हजारौं जना यो बन्दाबन्दीको मारमा परेका छन् । यातायात व्यवसायीहरु एकै स्वरमा भन्छन्‘ हामी सरकारले भने अनुसार सार्वजनिक सवारी संचालन गर्न सक्दैनौं’ । ‘२०६७ साल यता गाडी भाडा बढेको छैन्, तेलको भाउ अहिले १०७ रुपैयाँ प्रतिलिटर पुग्यो अब कसरी चलाउने मापदण्ड अनुसार ? उनीहरुको प्रश्न छ ।
’एउटा बसले भक्तपुरबाट नयाँ बस पार्क पुगरे आउदाँ १ हजार रुपैयाँ भन्दा बढिको डिजेल खपत गर्ने र सरकारले भने अनुसार यात्रु बोक्दा ५ सय कमाउन सकिदैंन,’ प्रकाश बस्नेतले भने ।
सरकारले ३० सिट क्षमताको बसमा १० जना मात्र राख्न दिदाँ पनि वर्तमान भाडादरमा सवारी चलाउन सकिने अवस्था नभएको उनीहरुको भनाई छ ।
व्यवासयीहरुले स्वास्थ्य मापदण्ड पुरा गरेर सवारस् संचालन गर्दा वर्तमान भाडादरमा पूर्नविचार गर्नु पर्ने अवस्था भएको बताए ।