एम्बुलेन्स र शव वहानमा जीपीएस प्रणाली जडान

218

भक्तपुर । भक्तपुर जिल्लामा हाल संचालनमा रहेका एम्बुलेन्स र शव वहानमा जीपीएस प्रणाली जडान गरिएको छ । स्वास्थ्य कार्यालय भक्तपुरकी तथ्यांक सुपरिवेक्षक तथा सूचना अधिकारी अस्मिता ढुंगानाका अनुसार प्रदेश सरकारद्धारा आर्थिक वर्ष २०७७/७८मा बिनियोजित रकमले यो वर्ष २० वटा एम्बुलेन्स र शववहानमा जीपीएस प्रणाली जडान गरिएको हो । जिल्लामा रहेका जम्मा २९ वटा एम्बुलेन्स मध्ये ९ वटामा पहिल्यै जडान भएको र बाकी २० वटामा भर्खरै जडान गरेका छौं, ढुंगानाले भनिन् । ९ वटामा सम्बन्धित अस्पतालले पहिला नै सो प्रणाली जडान गरेका थिए ।

भक्तपुर जिल्लामा रहेका सबै एम्बुलेन्स र शव वाहनमा जीपीएस जडान गर्ने काम सम्पन्न भैसकेकोले एम्बुलेन्स वा शव वाहन चाहिएमा सिधै पैसा नलाग्ने फोन नम्बर १०२ सम्पर्क गर्न सकिने कार्यालयले जानकारी दिएको छ । एउटामा सवारी साधनमा सो प्रणाली जडान गरेको ६ हजार रुपैयाँ लागेको समेत सूचना अधिकारी ढुंगानाले जानकारी दिएकी छन् । यसको जडानपछि कुन एम्बुलेन्स कहाँ छ कता पुग्यो भनेर थाहा पाउन सकिने छ ।