भक्तपुरमा ९ दिने सांस्कृतिक तथा व्यापार महोत्सव आयोजना हुने

258

चैत २,
भक्तपुर । भक्तपुर सांस्कृतिक, व्यापार तथा फागुपूर्णे महोत्सव आयोजना हुने भएको छ । ममता केन्द्र नेपाल, चाँगुनारायण पार्टी प्यालेस र टेष्ट हाउस प्रा.लि.को व्यवस्थापनमा चैत १३ गतेदेखि २१ गतेसम्म फागुपुर्णे होली लाई लक्षित गरी मेला आयोजना गरिन लागेको संयोजक संगम लामाले जानकारी दिएका छन् ।

भक्तपुर नगरपालिका वडा नम्बर ७ महेश्वरी खेल मैदानमा हुने दोस्रो भक्तपुर सांस्कृतिक, व्यापार तथा फागुपूर्णे महोत्सव-२०७७ एवं कराते प्रतियोगिता भक्तपुर डान्स आइडल- २०७७ प्रतियोगिता समेत हुनेछ ।

“९ दिन लामो मेलामा कराते प्रतियोगिता, नृत्य प्रतियोगिता तथा विभिन्न खेलहरुको आयोजना हुनेछ,” संयोजक लामाले भने । मेलामा हाम्रा दैनिक उपभोगीय सामग्रीहरु एकै स्थानमा उपलब्ध गराउने आयोजकको तयारी छ ।

मेलामा १ सय वटा विभिन्न स्टलहरु रहनेछन् । स्टलहरुमा लत्ताकपडा, विभिन्न कम्पनीका स्टलहरु, खेलकुदका सामग्री, दैनिक आवश्यकीय सामग्रीहरु उपलब्ध गराइने संयोजक लामाले जानकारी दिए ।

यस्तै मनोरञ्जनका खेलहरु पनि समावेश हुने जसमा रोटेपिङ, नाउ, ब्रेक डान्स, ड्राइगन, मौतका कुवा, भुत बंगला मिकी माउस जम्पीङ, विभिन्न जादु लगायतका विभिन्न बाल मनोरञ्जनका सामग्रीहरु यसमा समावेश हुने छन् ।

यस्तै स्थानीय एवं राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुबाट बेजोड प्रस्तुतिहरु दैनिक रुपमा हुने छन् । करिब २ लाखले अवलोकन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको मेला भक्तपुरमा नै पहिलो हुने आयोजकको दाबी छ ।
मेलामा काभ्रे, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं लगायतका जिल्लाबाट मेलामा सहभागिता हुने अपेक्षा आयोजकले लिएको छ । स्थानीय व्यापारीहरुको लागि १५ प्रतिशत छुटको व्यवस्था भएको र कृषिको स्टल राख्नेलाई प्राथमिकता दिने लामाले बताए ।