राष्ट्रिय चिया ऐन २०४९ संशोधन गर्न माग

133

फागुन २४,

झापा : राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ चिया क्षेत्रका लागि वैज्ञानिक नभएको चिया सरोकारवालाहरूले गुनासो पोखेका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाले आयोजना गरेको चिया सरोकारवालाहरूसँगको समन्वय बैठकमा चिया ऐन २०४९ वैज्ञानिक नभएकोले यसलाई तत्काल संशोधन गर्नुपर्ने माग गरेका हुन्।

चिया ऐन एकातिर र चिया उद्योगी, कृषक र मजदुरको समस्या अर्कोतिर देखिएकोले चिया ऐन संशोधन गर्नुपर्ने उनीहरूले माग गरेका छन्। ऐनमा बाझिएकोले साना किसान चियाले अनुज्ञा पत्र पाउन नसकेको गुनासो पोख्दै पाराखोपी साना किसान चिया सहकारी संस्थाका होम कार्कीले भने, ‘हामी किसान हो कि उद्योगी ? सरकारले हामीलाई किसान भन्छन्, राज्यबाट सेवा सुविधा लिनु पर्यो भने उद्योगमा दर्ता गर्नुपर्ने भन्छन्, यो कस्तो कानुन हो ?’ साना किसान चियाको कृषि प्रयोजनको सरसामान भारतबाट आयात गर्नु पर्दा भन्सारले पनि किसान नभएको भन्दै कृषिमा लाग्ने एक प्रतिशत नदिने गरेको उनले गुनासो पोखे।

त्यस्तै चिया व्यवसायी संघ झापाका पृथ्वीनारायण कार्कीले सरकारद्वारा नेपालमा आयातित मलको गुणस्तर नहुँदा चिया किसान थप मारमा परेको बताए। ‘सरकारले एलसी खोलेर मल मात्र ल्याउने हो कि त्यहाँबाट आयात गर्ने मलको गुणस्तर पनि जाँच गर्ने हो,’ उनले भने।’ नेपालमा उत्पादित चियालाई अन्तर्राष्ट्रिय बजारीकरण नगरेसम्म नेपाली चियाले बजार नपाउने उनको गुनासो छ।

त्यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश इन्चार्ज भूपाल सापकोटाले जिल्लामा क्षेत्रीय स्तरको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड हुँदा पनि यसको केही काम नभएको तर्क राखे। बोर्डमा पर्याप्त बजेटसहितको कार्यक्रम नहुँदा चिया क्षेत्रको समस्या जस्ताको त्यस्तै रहेको उनको भनाई छ। निजी क्षेत्रले श्रमिकको तलब भत्ता बढाउँदै आए पनि सरकारी पक्षबाट खटिएका श्रमिकका लागि तलब भत्ता बढाउने विषयमा बोर्डले केही नगरेको उनले गुनासो पोखे।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले चिया ऐनका कारण चिया उद्योगले अन्य उद्योग सरह बिजुलीको महसुल बुझाउन पर्ने बाध्य पारिएको बताए। चिया कृषि क्षेत्रमा परे पनि नेपाल विद्युत प्राधिकरणले डिमान चार्ज लिँदै आएको उनले बताए। सरकारले चिया क्षेत्रमा ५ प्रतिशत अनुदान दिने घोषणा गरे पनि त्यो पनि कार्यान्वयन नआउँदा समस्या झेल्नु परेको बताउँदै उनले भने, ‘माग भन्दा बढी नेपालमा चिया उत्पादन हुन्छ।