‘अब सबैलाई मैले बनाएको पार्टीमा आउनुहोस् भन्छु’

117

फागुन १२,

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन्।

प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाइएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने बताएका हुन्।

बुधबार बिहान न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता गौतमले पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएको गाँठो फुकाउने पहल पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लिनुपर्ने पनि बताए। नेता गाैतमसँग गरिएको कुराकानीको सम्पादित अंश

प्रतिनिधि सभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ?

सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको यो निर्णयले नेपालको संविधानको संरक्षण गरेको छ। यो निर्णयले नेपाली जनताको सार्वभौम अधिकारलाई पुनर्स्थापित गरेको छ। र यसले स्वेच्छाचारी तरिकाले मनपरी जे मन लाग्यो त्यही गर्दै हिँड्न पाइँदैन भनेर अनुशासन बोध पनि गराएको छ। त्यसैले यो निर्णय नेपालको संविधानबमोजिम, नेपालको संविधानको मर्म र भावनाबमोजिम र हामीले निर्माण गरेको संविधानको अक्षरसँग पनि सम्बन्धित बनाएर निर्णय भएको छ।

प्रतिनिधि सभा भंग गर्ने काम असंवैधानिक हो र यससित सम्बन्धित भएर सरकारले जति पनि काम गरेको छ त्यो सबै असंवैधानिक हुन भनेको हुनाले प्रतिनिधि सभा मात्रै पुनर्स्थापित होइन, अरु धेरै काम पनि असंवैधानिक भएको हुनाले खारेज हुन्छन्। ज्यादै ठूलो ऐतिहासिक महत्व राख्ने निर्णय भएको छ। मैले यसलाई ऐतिहासिक निर्णय भनेर भनेको छु।