चैतभित्र सरकारी सवारीमा इम्बोस्ड नम्बर प्लेट जोड्ने तयारी

131

माघ २९,
काठमाडौं । सरकारले आगामी दुई बर्षभित्र इम्बोस्ड नम्बर प्लेट जोडिसक्ने लक्ष्य लिएको छ । मुद्दा परेर रोकिएको करिब २६ महिनापछि पुनस् जडानको सुरु भएको इम्बोस्ड नम्बर प्लेट आगामी दुई बर्षमा देशभरका करिव ३० लाख सवारी साधनमा जोडिसक्ने यातायात व्यवस्था विभागले काम अघि बढाएको हो। दुई बर्षमा देशभरका सबै खालका सवारीसाधनमा जोडिसक्ने योजना बनाएर अघि बढेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

उनका अनुसार चैतभित्र सबै खालका सरकारी सवारीसाधनहरुलाई अनिवार्य रुपमा जोडिसक्ने लक्ष्य छ। अहिले सरकारी प्लेटहरुको अर्डर धेरै आएकाले सोही अनुसार नम्बर प्लेटहरु नै छाप्ने काम भैरहेको छ।
सरकारी सवारीसाधनमा अनिवार्य गरिएपछि बिस्तारै निजी लगायत अन्य सबै सवारीसाधनमा अनिवार्य गर्दै लैजाने हमालले बताए । इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि भारतको जस्तै देखिएको, नेपाली भाषामा किन नभएको र आर्थिक चलखेलसमेत भएको भन्दै रोक लगाउन माग गर्दै भरत बस्नेतले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा २०७४ फागुन १० गते तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको इजलासले इम्बोस्ड नम्बर प्लेट तत्कालका लागि लागू नगर्न अन्तरिम आदेश गरेको थियो। त्यसको २१ महिनापछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जनाको संयुक्त इजलासले रिट खारेज गरेसँगै विभागले पुनः जडान सुरु गरेको हो।