यो वर्षको शैक्षिकसत्र जेठसम्म

214

काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनी परामर्श शुरु गरेको छ । विद्यमान शिक्षा नियमावलीमा वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने व्यवस्था भएकामा कोरोना महामारीपछि विद्यालय पूर्ववत् सञ्चालन हुन नसक्दा सञ्चार तथा सूचना प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण भएका बेला पाठ्यक्रम समायोजन गरी सिकाइ निरन्तरता गरिएको छ ।

कोरानाको जोखिम घट्दै गएको र लामो सयम वैकल्पिक माध्यममा शिक्षा दिँदा सिकाइ गुणस्तरमा नकारात्मक असर पर्नसक्ने भएकाले पछिल्लो समयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विद्यालय सञ्चालनको क्रम शुरु भएको छ । जाडो बिदा नदिइ कक्षा सञ्चालन भएकाले शैक्षिक सत्र व्यवस्थापनमा यसले सकारात्मक प्रभाव पार्ने देखिएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले शैक्षिक सत्रलाई दुई महिनासम्म लम्ब्याउने विषयमा छलफल भइरहेको जनाउँदै सोका लागि शिक्षा नियमावलीमा मन्त्रिपरिषद्बाट संशोधन गर्नुपर्ने बताए ।

यस विषयमा मन्त्रिपरिषद्को सामाजिक समितिमा छलफल भइसकेको जनाइएको छ । शैक्षिक सत्रलाई आर्थिक वर्षको अनुकूलका आधारमा हरेक साउनमा शुरु गराउने विषयमा पनि छलफल भइरहेको जनाइएको छ । चैतमा वार्षिक परीक्षा भई केही अवधि बिदा दिएर वैशाखको दोस्रो सातामा नयाँ शैक्षिक सत्र शुरु हुने गरेकामा उक्त बिदाको अवधिलाई पनि यस वर्ष उपयोग गर्न लागिएको हो ।