बाकशमा लाश बनेर आएका ती सपनाहरु

215
सांकेतिक तस्विर : google

माघ १०
काठमाडौं । जीन्दगी सहज बनाउने सपना बोकेर परदेशमा गएका १८ जना नेपालीको शव आज नेपाल ल्याईएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो । एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ । शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उडेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्यु भएर त्यहाँ अलपत्र अवस्थामा थिए । मृतकका परिवारको पीडालाई बुझेर निगमले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको निगमले उल्लेख गरेको छ ।

निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले पहिलोपटक वाइडबडी जहाज प्रयोग गरेको हो । वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ । मलेशियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ । ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ । विदेशमा अलपत्र नेपाली कामदारको शव नेपाल ल्याएर निगमले सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको निगमका सहप्रवक्ता शुलेख मिश्रले बताए । यी लाश संगै सयौं मानिसको सपनापनि बाकशभित्र थुनिएर बिलाएका छन् ।