भक्तपुर दरबार क्षेत्रभित्र स्कुल पुनर्निर्माणको साटो मन्दिर नै बनाउन जोड

304
फाइल तस्विर

अन्नपूर्ण पोष्ट
माघ १, भक्तपुर । जिल्लाको भक्तपुर नगरपालिका–२ यालाछेंस्थित भक्तपुर दरबार क्षेत्र परिसरमा शारदा माध्यमिक विद्यालयको भवन पुनर्निर्माण गर्न लागिएको भन्दै इतिहासविद् तथा संस्कृतिविद्सँगै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन् । उनीहरुले भक्तपुर दरबार क्षेत्र परिसरका ९९ चोकमध्ये केही चोक रहेको उक्त क्षेत्रमा विद्यालय भवन पुनर्निर्माण स्वीकृति दिनु आपत्तिजनक भएको बताए । ‘भक्तपुर दरबार क्षेत्र उत्खनन् गर्ने भन्दै आएको नगरपालिकाले शारदा माविलाई भवन पुनर्निर्माण गर्न स्वीकृति दिनु आश्चर्यको कुरा हो’, उनीहरुले भने, ‘पहिले त्यहाँ उत्खनन् गर्नुपर्छ, तत्काल भवन पुनर्निर्माण गर्न दिन हुन्न ।’

भक्तपुर दरबार क्षेत्रको ९९ चोकभित्र परेका जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, महानगरीय प्रहरी परिसर भक्तपुर, नेपाल स्काउट, भक्तपुर बारलगायतका भवनसमेत हटाउन पहल गर्नुपर्नेमा स्कुल भवन पुनर्निर्माण गर्न दिने निर्णय सच्याउनुपर्नेमा उनीहरुको जोड थियो ।
‘दरबार क्षेत्र उत्खनन् गर्ने भनेकाले जिल्ला अदालतले अन्तै नयाँ भवन बनाइसकेको छ’, उनीहरुले भने, ‘अरु सरकारी कार्यालयहरुलाई पनि स्थानान्तरण गर्दै लानुपर्छ तर अहिले स्कुल पुनर्निर्माण गर्न दिँदा ती कार्यालयहरु स्थानान्तरण भएर जान तयार हुँदैनन् ।’ भक्तपुर नगरपालिकाबाट ‘दबाब’ आउनसक्ने भन्दै ती इतिहासविद् तथा संस्कृतिविद्हरुले आफ्नो नाम उल्लेख नगर्न आग्रह गरेका थिए ।