सम्पदा मार्गको गुरुयोजना तयार

71

नेपाल समाचारपत्र,
बैशाख ४, काठमाडौं । छोटो दूरीमा रहेको दुई सम्पदाबीचको सम्बन्धलाई जोड्न काठमाडौं महानगरपालिकाले सम्पदा मार्ग गुरुयोजना तयार गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भु र हनुमानढोका दरबार क्षेत्रबीचको २ दशमलव २ किलोमिटर दूरीसम्म जोडेर सम्पदा पदमार्ग नामकरण गरिएको छ । गएको वर्ष वैशाख २ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको पदमार्गको यो वर्ष गुरुयोजना तयार भएको हो । अधिकारीको ताप्लेजुङको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उहाँको सपना पूरा गर्न काठमाडौं महानगरपालिकाले गुरुयोजना तयार पारेको हो ।

विश्व सम्पदा दिवस २०१९ अप्रिल १८ अर्थात् भोलि वैशाख ५ गते गुरुयोजना सार्वजनिक गरिने भएको छ । गुरुयोजनामा पदमार्गको बारेमा विस्तृत अध्ययन गरिएको छ । बिहान ७ बजे सम्पदा मार्ग घुमेपछि गुरुयोजना सार्वजनिक गरिने कार्यतालिका तयार पारिएको छ । कामपा शहरी योजना आयोगले तयार गरेको गुरुयोजनामा नेवारी संस्कृति र सयौं वर्ष पुराना सम्पदालाई संरक्षण गर्ने विषयमा गुरुयोजनाले ध्यान केन्द्रित गरेको छ । सम्पदा पदमा क्षेत्रका विभन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल आदि जस्ता सम्पदा अवलोकन गर्न सकिनेछ ।