सालकको खपटासहित तीन जना पक्राउ

65

काठमाडौं । धादिङ धुनिबेशी–५ का मनोज राई सालकको खपटा बोकेर काठमाडौं आउँदै थिए । काठमाडौंमा उनलाई ‘विशेष ग्राहक’कुरिरहेका थिए । बा.३ख ६१३८ नम्बरको बसमा आएका १९ वर्षीय राईलाई पुस १५ मा नागढुंगाबाट खटिएको प्रहरीले पक्रियो । महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले मनोजको झोलामा एकथान सालकको खपटा भेट्टायो ।

मनोजको बयानको आधारमा प्रतिबन्धित सालकको खपटा किन्न खोज्ने नुवाकोटका सूर्य तामाङ र धादिङका कपिल तामाङलाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको छ । मनोजसँग प्रारम्भिक सोधपुछपछि सूर्य र कपिललाई सीतापाइलाबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए । सालकको खपटा कारोबार गर्नेहरुमाथि थप अनुसन्धान र कारवाहीका लागि प्रहरीले उनिहरुलाई जिल्ला बन कार्यालय काठमाडौंमा पठाएको छ ।