मध्यपुरथिमि नगरपालिकालाई एशियन अवार्ड

125

पुस ८,
भक्तपुर । मध्यपुरथिमि नगरपालिका यस वर्षको ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ । विश्वमा बढ्दो शहरीकरणले कयौँ महत्त्वपूर्ण ऐतिहासिक सम्पदा नासिँदै गएको अवस्थामा परम्परागत, ऐतिहासिक धरोहर तथा प्राकृतिक क्षेत्र संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण काम गरी प्रगति हासिल गरेका एशियाली शहरहरुलाई प्रत्येक वर्ष युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले दिँदै आएको यो पुरस्कार यस वर्ष मध्यपुरथिमि नगरपालिकाले पाएको युएन हेबिट्याटका कार्यक्रम प्रबन्धक पिएस जोशीले जानकारी दिए ।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनःनिर्माणमा पाएको सफलतालाई आधार मान्दै वितरण गरिने उक्त पुरस्कार पाउने मध्यपुरथिमि नगरपालिका नेपालकै एक मात्र नगरपालिका हुन सफल भएको छ । एशियाका स्थानीय सरकार, विभाग, शहरी व्यवस्थापन निकाय, गैरसरकारी तथा सामुदायिक संस्थाहरु, अनुसन्धान केन्द्र, योजना निर्माण विज्ञलगायतको प्रतिस्पर्धामा दक्षिण कोरियाका चार, जापानका तीन, चीनका दुई तथा मलेशिया, नेपाल र थाइल्याण्डका एक–एक नगरपालिकाले उक्त पुरस्कार प्राप्त गरेको जोशीले जानकारी दिए । शहरी क्षेत्रको विकासमा लामो समयदेखि सक्रिय रहँदै आएको युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार पाएपछि मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक कला, संस्कृति, सम्पदा, सांस्कृतिक धरोहर एवं परम्पराको संरक्षणसँगै विकासमा पुर्याएको योगदानले पुरस्कार पाउन सफल भएको उल्लेख गर्दै यसले आफूलाई अझै जिम्मेवार बनाउँदै सम्पदा संरक्षणको अभियानमा थप प्रेरणा दिएको बताए । नगरपालिकाले यो पुरस्कार पाउनमा नगरपालिकाको सम्पदा संरक्षणको अभियानमा सक्रिय रहेका उपभोक्ता समिति, नगरपालिका परिवार, जनप्रतिनिधि, कर्मचारी सम्पूर्ण मध्यपुरथिमिका बासिन्दा एवं सरोकारवाला निकायको योगदान रहेको उनले बताए ।