खेलाडीको मुखमै थुुकेपछि ५ खेलको प्रतिबन्ध

87

काठमाडौं । फुटबल मैदानमा आफ्ना विपक्षीलाई मुखमा थुुक्ने एक खेलाडीमाथि ५ खेलको प्रतिबन्ध लागेको छ । बोरुसिया मोनेशेनग्लाबाखका स्ट्राइकर मार्कस थुरमले जर्मन बुन्डेसलिगाअन्तर्गत एक खेलका दौरान होफेननहिमका खेलाडीको मुखमा थुुकेका थिए । यसपछि उनीमाथि ५ खेलको प्रतिबन्ध लागेको हो । यो प्रतिबन्ध जर्मन कप र बुन्डेसलिगामा लागु हुने जर्मन फुटबल महासंघले जनाएको छ ।
ट्याकलका दौरान दुई खेलाडीबीच विवाद बढेपछि थुरमले होफेननहिमका डिफेन्डर स्टेफेन पोशको मुखमै थुकेका थिए । रेफ्री फ्रयाङ्क भिलनेवर्गले भिडियो देखेपछि थुरमलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाएका थिए भने पोशलाई पनि विवादमा उत्रिएको भन्दै पहेँलो कार्ड देखाएका थिए । शनिबारको यस खेल होफेनहिमले २–१ ले जितेको थियो ।

जर्मन फुटबल महासंघले थुरमलाई ४० हजार युरो जरिवाना पनि गरेको छ । बोरुसियाको टोलीले यसअघि नै फ्रान्सका थुरममाथि एक महिनाको तलब जरिवाना गराउने निर्णय लिइसकेको छ । यो जरिवाना रकम सामाजिक कार्यमा खर्च गरिने क्लबले जनाएको छ ।