पुस ८,
तनहुँ । कुनै समयमा बस मालिक भनेर चिनिने व्यास नगरपालिका–१ गल्बुबेसी निवासी ५५ वर्षीय रामनाथ मिश्र अहिले मौरीबाजे भनेर परिचित बनेका छन् । बस र ट्र्याक्टरबाट राम्रै आम्दानी भए पनि अस्वस्थ प्रतिस्पर्धा र विकृति बढ्दै जान थालेपछि भएका गाडी बिक्री गरेर श्रीकृष्ण मौरीफार्म दर्ता गरी मौरीपालनतर्फ लागेको उनले बताए । “विसं २०७२ देखि मौरीपालन थालेपछि छुट्टै आनन्द मिलेको छ”, उनले भने, “कसैसँग झगडा र राता गाला गर्नुपरेको छैन ।”
मौरीपालनको शुरुमा धेरै सङ्घर्ष गर्नुपरेको बताउने मिश्रले भने, “जीवनमा हरेस भने कहिल्यै खाइनँ, त्यसकै सफलता आज मिलेको आभास गरेको छु ।” वनको मुढेघारबाट मौरी पाल्न शुरु गरेका मिश्रले दशौँ पटकसम्म पनि मौरी नबसेपछि धेरै दुःख पाए पनि हरेसचाहिँ नखाएको उनी बताउँछन् । अहिले उनको फार्ममा ५० घार सेरेना जातका मौरी छन् ।
करिब एक रोपनी क्षेत्रफलमा तारबार गरी मौरीपालन गरी मौरीलाई आवश्यक पर्ने विभिन्न किसिमका फूलसमेत लगाएका छन् । वर्षमा कम्तीमा ४०० माना मह उत्पादन हुने र प्रतिमाना रु एक हजारमा बिक्री गर्ने गरेको उनी बताउँछन् । मौरी छुट्याएर मौरीको घारसहित वर्षमा ५० देखि ६० घारसम्म बिक्री गर्ने गरेको उनले जानकारी दिए । यसरी बिक्री गर्दा प्रतिघार मौरीसहित रु १० हजार मूल्य पर्नेछ ।
मह र मौरी बिक्री गरेर वार्षिक रु सात–आठ लाख सजिलै कमाउँदै आएको बताउँदै फार्ममा १०० घार मौरी पुर्याउने लक्ष्य रहेको उनी बताउँछन् ।














