कार्तिक ७,
काठमाडौं । काठमाडौं । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ । कोभिड–१९ को संक्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।
उनले भने, ‘स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा सांकेतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेका छौं । अघिल्ला वर्षका बढाइँमा पूर्व, पश्चिम र दक्षिणपाटाबाट ८४/८४ जनाको गुल्मले बढाइँ गर्थ्यो भने यस पटक सामाजिक दूरी कायम गरी २५/२५ जनामा सीमित गरिएको छ ।’ बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुने परम्परा छ ।