उद्योग वाणिज्य महासंघको निर्वाचनः वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी दर्ता

74

कार्तिक ५
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षमा उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज उम्मेदवारी दर्ता गरेका छन् । महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उहाँको समूहका सबै उपाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गरेका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

गत चैत्रमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगन भएको थियो । पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।
गत मंसिरमा गृह जिल्ला बाग्लुङङ्गमा आयोजित बाग्लुङ महोत्सवमा ढकाललाई वरिष्ठ उपाध्यक्षमा स्थानीय उद्योग वाणिज्य महासंघले उम्मेदवार प्रस्ताव गरेको थियो । गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रममार्फत ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । त्यस्तै गत असारमा ढकालसहित सबै उपाध्यक्षहरुले सामूहिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।