आँखामा कोरोनाभाइरस भेटियो

98

असोज २५,
चीन । कोरोनाभाइरसको एउटा अनौठो मामिला सार्वजनिक भएको छ । कोरोनाभाइरसको संक्रणबाट मुक्त भएकी ६४ वर्षीया महिलाको आँखामा २ महिनापछि पनि कोरोनाभाइरस भेटिएको हो । कयौँ अध्ययनले यसअघि नै आँखा रातो हुनु र सुन्निनुलाई कोरोनाभाइरसको लक्षण मानेको छ । लगातार ५ दिनसम्म सुख्खा खोकी र ९ दिनसम्म झाडापखालाको लक्षणपछि ती महिला गत जनवरी ३१ मा अस्पताल भर्ना गरिएकी थिइन् । उनलाई ज्वरो पनि देखिएको थियो । छातीको सिटी स्क्यान गर्दा उनको फोक्सोमा संक्रमण देखिएको थियो । त्यसपछि उनको स्वाब लिएर परीक्षण गर्दा उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनलाई त्यतिबेला गम्भीर समस्या देखिएको थिएन भने आँखामा पनि कुनै समस्या थिएन ।

१८ र २० फेब्रुअरीमा गरिएको जाँचमा उनको रिपोर्ट नगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको थियो । डिस्चार्ज भएको ८ दिनपछि उनको दाहिने आँखा दुख्न थालेको थियो । २८ फेब्रुअरीपछि दुखाइ बढ्न थाल्यो भने उनको दृष्टि पनि कमजोर बन्यो । जब दुखाइ सहन नसक्ने अवस्थामा पुग्यो, उनी अस्पताल पुगिन् । ८ मार्चमा उनलाई अस्पताल भर्ना गरियो । डाक्टरहरुले महिलामा ग्लूकोमा अट्याक भएको पाए । आँखामा दबाबका कारण पीडा भइरहेको उनीहरुले पत्ता लगाए । पहिला औषधी दिएर पीडा कम गर्ने प्रयास गरिए पनि फाइदा नभएपछि उनको अपरेशन नै गरियो ।