विवाद समाधान गर्न राप्रपाका अध्यक्षत्रयबीच सहमति

220

भदौ ३१,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयबीच पार्टी एकता प्रक्रियामा आएको उल्झन टुङ्ग्याउने सहमति भएको छ । बुधबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म अध्यक्षत्रय पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच राणाको निवास महाराजगञ्जमा बसेको बैठकले सहमति र समझदारीबाटै पार्टी एकतालाई पूर्णता दिने सहमति भएको हो । अध्यक्ष कमल थापाले अध्यक्षत्रयको बैठकले पार्टी एकता अक्षुण्ण राख्ने प्रतिबद्धता गरेको ट्वीटमार्फत जानकारी दिएका छन् । यस्तै अध्यक्ष राणाले पनि बैठक सकारात्मक भएको रातोपाटीलाई जानकारी दिए । राप्रपामा निर्वाचन आयोगमा दल दर्ता र चुनाव चिन्ह के राख्ने भन्नेमा विवाद छ। पार्टी एकता हुँदा थापा नेतृत्वको राप्रपाको चिन्ह ‘गाई’ र राणा–लोहनी नेतृत्वको राप्रपा संयुक्तको चुनाव चिन्ह ‘हलो’ कायम थियो ।

अहिले राप्रपामा पार्टी एकता हुँदा थाती राखिएको चुनाव चिन्हमा फेरि विवाद बल्झिएको हो । राप्रपाका दुई समूहबीच एकीकरण भइसकेपनि चुनावचिन्ह टुङ्गो नलग्दा निर्वाचन आयोगमा एकीकरणपछिको दल दर्ता प्रक्रिया टुङ्गोमा पुगेको छैन । फागुन २९ गते तीन राप्रपाबीच एकता भएको थियो। त्यसको पाँच दिनअघि एकताको आधारपत्रमा हस्ताक्षर भएको थियो। दुई समूहबीचको चुनाव चिन्ह तानातानमा धर्मनिरपेक्षता र हिन्दु राष्ट्रको फ्याक्टर बलियो ढंगले जोडिएको छ । केही नेताको गाई चुनाव चिन्ह राख्दा धर्मनिरपेक्षतावादीको मत पाउन नसकिने तर्क छ ।