मेयरका छोराले कार्यालयमा गएर प्रहरीलाई कुटे

106

भदौं २८
कञ्चनपुर । तास खेलिरहेका केही व्यक्तिहरूलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालयमा ल्याइएपछि उनीहरूलाई छुटाउन गएको सो टोलीले ढुंगामुढा गर्दै प्रहरीलाई कुटपिट गरेको प्रहरीको आरोप छ । 
प्रहरीमाथि कार्यालयमै कुटपिट भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरमा कार्यरत सई गोपाल बोहरा र एक जना प्रहरी हवल्दार कार्यालय भित्रै कुटिएका हुन् । पुनर्वास नगरपालिका मेयर जीवनराम थापाका माइला छोरा देवेन्द्र थापा, भतिज स्वकीय सचिव टेक थापालगायतको टोलीले इलाका प्रहरी कार्यालयमा ढुंगामुडा गर्नुका साथै कुटपिट गरेको प्रहरीले जनाएको हो ।

तर, प्रहरीले आफूहरूलाई कुटपिट गरेको बताए पनि उल्टै आफूलगायत त्यहाँ गएको टोलीलाई नियन्त्रणमा लिएर लठ्ठी र बुटले कुटपिट गरेको टेक थापाले बताए । उनले सई बोहराले आफूलगायत देवेन्द्र थापा र अन्यलाई निर्घात कुटपिट गरेको बताए । कुटपिटबाट घाइते उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ उपरीक्षक मुकेश सिंहले इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षकसहितका प्रहरीमाथि कुटपिट भएको घटनाको विषयमा छानबिन गर्न निर्देशन दिइएको बताए । तास खेलिरहेको अवस्थामा पुनर्वासका केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको विषयमा वादविवाद भएर प्रहरीमाथि कुटपिट भएको भन्ने खबर आएको उनले बताए । सो घटनाको छानबिन गर्न निर्देशन दिइसकेको सिंहले जानकारी दिए ।