जगदम्बा स्टील र मंगला सिमेन्ट कारबाहीमा

908

भदौ २६,
काठमाडौं । गुणस्तरहिन निर्माण सामाग्री उत्पादन गर्ने जगदम्बा स्टील र मंगला सिमेन्टलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही प्रक्रिया अघि बढाएको छ । जगदम्बा र मंगलम दुई उद्योगबाट उत्पादित वस्तुकोे नमूना संकल गरि विभागको प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्डअनुरुप नपाइएपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको हो । परीक्षण गर्दा दुबै उद्योगको उत्पादन न्यून गुणस्तरको पाइएकाले शुक्रबार बसेको विभागको निर्णयले नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन, २०३७ तथा नियमावली, २०४० को नियम ९१६० बमोजिम कानुनी कारबाही प्रक्रिया अगाडी बढाईएको विभागले जनाएको छ । संकलित नमूनाअनुसार जगदम्बा स्टिलले आफ्नो उत्पादनमा कार्बोनको मान ०।३० प्रतिशत हुनुपर्नेमा अधिकतम ०.३५ प्रतिशत राखेकोे र सल्फरको परिमाण ०।०५५ प्रतिशत हुनुपर्नेमा अधिकतम ०।०६० प्रतिशत भेटिएको विभागले जनाएको छ ।

त्यस्तै मंगला सिमेन्टको उत्पादनमा कम्प्रसिभ स्ट्रेन्ज न्यूनतम १६ एमपिएदेखि २२ एमपिए हुनुपर्नेमा न्यूनतम १४ एमपिएदेखि १९ एमपिएसम्म पाइएको विभागको भनाई छ । यी दुईवटै उद्योगको उत्पादन गुणस्तरचिन्ह ऐन २०३७ तथा नियमावली २०४० को नियम ९१६० अनुसार नपाइएकाले कानुनअनुसार जगदम्बा स्टिललाई १६ एमएम साइजको छडको इजाजत तत्काल स्थगन गर्ने र करिब ३०० टन उत्पादन विभागको प्रतिनिधिको रोहोबरमा स्क्राप गरी विक्री वितरण रोक्का गर्ने निर्णय गरेको छ भने मंगला सिमेन्टलाई उल्लेखित व्याचको सम्पूर्ण उत्पादन बजारबाट फिर्ता गर्न र पीपीसी को बिक्री वितरण बन्द गरी १५ दिनभित्र विभागमा स्पष्टीकरण पेश गर्न भनिएको छ । यसअघि यी दुबै कम्पनीको उत्पादन कमसल पाइएको भन्दै उपभोक्ताहरुले उचित छानविन गर्न विभागमा उजुरी हालेका थिए ।