भदौ २,
भक्तपुर । कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि भक्तपुर नरगपालिकाले सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग मंगलबार सार्वजनिक यातायात बन्द विषयमा छलफल भएको हो । संक्रमण समुदायस्तरमा फैलिन नदिन नगरभित्र सञ्चालन हुने छोटो दुरीका सार्वजनिक यातायातहरु बन्द गरिने नगरप्रमुख प्रजापतिले जानकारी दिएका छन् ।
जसअनुसार बुधबार (भोलि) मिति भदौ ३ गतेदेखि भदौ १५ गतेसम्मका लागि पूर्ण रुपमा भक्तपुर नगरक्षेत्रमा सार्वजनिक यातायात बन्द हुनेछन् ।
काठमाडौं उपत्यकालगायत विभिन्न शहरहरुमा पनि दैनिक सयौंको संख्यामा संक्रमितहरु थपिरहेको तथा भक्तपुरमा पनि संक्रमितहरु बढ्दै गएकाले सो निर्णय गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
यस अगाडी मध्यपुरथिमि नगरपालिकाले समेत लकडाउन गरिएको छ । सोमबार मात्र भक्तपुर जिल्लामा १४ जनामा कोरोना संक्रमण देखिएको थियो ।