ओलीको संकट टरेको हो ?

99

साउन ३१,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संकट तत्कालका लागि टरेको नेताहरुले बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेर कार्यदल गठन गरेसँगै ओलीको संकट टरेको हो । ओली र प्रचण्डले सहमति खोज्न शुक्रबार महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । पौडेल नेतृत्वको कार्यदलममा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल छन् ।

स्रोतका अनुसार ओली र प्रचण्डबीच मोटो सहमति भएर नै कार्यदल गठन भएको देखिन्छ । ‘ओलीले प्रचण्डलाई अहिले कार्यकारी अध्यक्षको व्यवहारिक अभ्यास गर्न दिने र आसन्न महाधिवेशनपछि अध्यक्ष र आम चुनावपछि प्रधानमन्त्रीको बचान दिइएको छ’ स्रोतले भन्यो, ‘दुई अध्यक्षबीच समझदारी भइसकेकाले कार्यदलले त्यसलाई औपचारिकता दिनेबाहेक थप केही गर्दैन होला ।’

यद्यपि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ प्रकाशसँग शनिबार भएको भेटमा प्रचण्डले कार्यदल बनाउने बाहेक थप सहमति नभएको बताए । कार्यदल गठनको निर्णय स्थायी कमिटी वा कम्तिमा सचिवालयबाट गर्नुपर्ने नेताहरुको रायमा ठीक भएको प्रचण्डले समेत बताए ।

भेटमा वरिष्ठ नेता खनाल र नेपालले प्रचण्डको कार्यशैलीबारे असन्तुष्टि जनाएका थिए ।
प्रधानमन्त्री ओली वैशाखमा पनि पार्टीभित्र संकटमा परेका थिए । पार्टीमा छलफल नै नगरी दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि प्रचण्ड, माधवकुमार नेपालसहितका नेताहरुले चर्को विरोध गरे । उनले अध्यादेश पनि फिर्ता लिए ।

तर, १७ गते बसेको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागे । सचिवालयमा अल्पमतमा परेका ओलीले उपाध्यक्ष बामदेव गौतमलाई आफूतिर तान्न सफल भएपछि २० गते सचिवालयको अवस्था फेरियो । ओलीले आत्मालोचना गरे, गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने र २५ गते स्थायी कमिटीको बैठक निर्णय भयो । निर्णयसँगै प्रधानमन्त्री ओलीको सत्ता संकट तत्कालका लागि टर्‍यो ।

स्थायी कमिटी पूर्वनिर्धारित समयमा बसेन । आत्मालोचना अनुसार ओलीको व्यवहार परिर्वतन नभएको भन्दै फेरि प्रचण्ड, वामदेव गौतमहरु रुष्ट बन्न थाले । र, १० असारमा स्थायी कमिटी बैठक सुरु भएसँगै प्रधानमन्त्री ओली अप्ठ्यारोमा परे ।

प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सहमति छाडेर गल्ती गरेको महसुस भएको बताए । अरु नेताहरुले सरकार र पार्टी सञ्चालन प्रभावकारी नभएको बताए । दुई दिनका लागि बैठक स्थगित गरेर १४ असारमा मदन भण्डारी स्मृति दिवसको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन खोजेको र त्यसमा नेपालकै नेताहरु पनि लागेको आरोप लगाए । onlinekhabar