साउन २५,
पोखरा । कास्कीको पोखरा महानगरका युवाले मेयर मानबहादुर जिसीसँग १३ करोडको हिसाब मागेका छन् । आइतबार हिसाब माग्न पोखरा महानगरपालिका पुगेको युवाहरुसँग मेयर जिसीले १३ करोड नभएर पौने दुई करोडमात्र हिसाब नदेखिएको बताएका छन् । पोखरा महानगरमा यतिबेला १३ करोड रुपैयाँ हराएको काण्डले चर्चा पाएको छ । महालेखा परीक्षकको कार्यालयले उक्त रकम बेरुजु देखाएपछि महानगरमा अनियमितता भएको तथ्य प्रकाशमा आएको हो ।
रकमको हिसाब हिनामिनामा जो कोहीको संलग्नता भए पनि कारबाही गरिने मेयर जिसीले बताए । पौने दुई करोडको हिसाब नमिलेको मेयर जिसीले नै स्वीकार गरेका कारण पनि महानगरमा आर्थिक हिनामिना भएको तथ्यलाई पुष्टि गरेको छ । मेयर जिसीकाअनुसार करिब १२ करोड रुपैयाँ बराबरको चेक ठेकेदारहरुले नसाटेका कारण हराएकोजस्तो मात्र देखिएको हो । करिब एक करोड ७३ लाखको भने हिसाब गडबड भएको मेयर जिसीले स्वीकार गरेका छन् । पौने दुई करोडको हिसाब खोज्ने काम तत्काल गरिने प्रतिबद्धता उनले युवामाझ गरेका छन् । आगामी २५ दिनभित्र पौने दुई करोड रुपैयाँको हिसाब दिने मेयर जिसीले बताएका छन् ।