आफन्त र पैसावालाई टिकट दिएर पार्टी उभो लाग्दैन

216

साउन १५,
काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीले विरोधी कार्यकर्तालाई तर्साउन आफूमाथि कारबाहीको डण्डा चलाइएको टिप्पणी गरेका छन् । आफ्ना मान्छेलाई पार्टीमा टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुँदैन भन्ने आवाज उठाउने र अन्यायको विरुद्धमा बोल्नेहरुलाई तर्साउन आफूमाथि कारबाही भएको उनको भनाइ छ । जोशीले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको कदमका विरुद्धमा बोल्नेलाई तर्साउन आफूलाई कारबाही गरिएको ठोकुवा गरे । उनले भने, ‘मैले त अन्यायको विरुद्ध धेरै अगाडिदेखि बोलिराखेको छु । यिनीहरुलाई के रैछ भन्दाखेरी गोविन्दराज जोशीलाई अ्याट्याक गर्नेकुरामा निर्णय गर्ने कुरा एउटा कुरा हो । मलाई अ्याट्याक गरिसकेपछि अरुलाई तर्साउन सजिलो भयो ।’

नेता जोशीले आफूमाथि कारबाही गर्ने निर्णय र पार्टीमा केही मानिसहरुलाई प्रवेश गराउने कार्यले पार्टीभित्र इमान्दार र निष्ठावान कार्यकर्ताको उपस्थिति नहुने निश्चित भएको बताए ।
उनले पार्टीका नेताहरुको स्वर्गारोहणको बेलामा मात्रै उपस्थिति जनाउन पाउने व्यक्तिलाई पार्टीभित्र प्रवेश गराइएकाले लामो समयदेखि योगदान दिएका इमान्दार कार्यकर्ताको आत्मसम्मानको अन्त्य भएको बताए । यो विषयमा आवाज उठाउँदा पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बिझेकाले आफूमाथि कारबाही गरिएको उनले बताए ।

उनले भने, ‘अहिलेको मेरो निर्णय साथसाथै पार्टीमा प्रवेश गराइएका मानिसहरुको उपस्थितिले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कुनैपनि इमान्दार निष्ठावान कार्यकर्ताको उपस्थिति हुँदैन । हुन त पार्टीले त्यस्ता मान्छेहरुलाई केवल हाम्रो नेताहरु कोही स्वर्गारोहण भए त्यो बेलामा उपस्थिति हुने मात्रै मौका दिन्थ्यो । तर अव इमान्दार कार्यकर्तालाई त्यहाँ जाने कुरा आत्म सम्मानको विषय रहेन । तर मैले यो कुरा भन्दा उनीहरुलबाई बिझेछ । रामचन्द्रजीलाई पनि शेरबहादुरजीलाई पनि बिझेछ । मैले परिवारका मान्छेलाई टिकट दिनुहुँदैन, पैसामा टिकट बेच्नु हुँदैन, आफ्ना मान्छेलाई टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुदैन भन्दा उहाँहरुलाई बिझिराखेको रहेछ । त्यसलाई व्यक्त गर्नुभयो र के गर्नुभयो भन्दा पार्टी जेसुकै होस । पार्टी त अब उभो लाग्दै लाग्दैन ।’