जनैपूर्णिमा मेला नगर्न आग्रह

231

साउन ७,
सिन्धुपाल्चोक । जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ । गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।

यो वर्षको जनैपूर्णिमा साउन १९ गते परेको छ । पालिकाले मानिसको भीडभाड हुँदा कोरोना सङ्क्रमण फैलन अझ मद्दत पुग्ने भएको भन्दै यो वर्षको मेला नगर्न र सहभागी नहुन सबैलाई आग्रह गरेको हो । विभिन्न जिल्लाबाट सर्वसाधरण मेला भर्न पुग्ने गरेका थिए । समुद्री सहतबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँच ताल रहेका छन् ।

पाँचपोखरीमा जनैपूर्णिमाको मेला भर्न खासगरी तामाङ समुदायको झाँक्री र उनका आफन्तहरु पुग्ने गरेका थिए । पाँचपोखरीको दुईरतीन पटकसम्म मेला भरेर आएपछि मात्रै झाँक्रीको रुप धारण गर्न पाउने यो समुदायमा विश्वास छ ।