नेपालमा सलह दोस्रो लट आउन सक्छ ?

234

असार २७,
काठमाडौं । असार १४ गते नेपाल छिरेका सलह बिस्तारै–बिस्तारै हराउँदै गएका छन् भने अर्को नयाँ झुण्ड छिर्ने तर्खरमा देखिएको छ । भारतबाट नेपालको बारा, पर्सा नाकाबाट छिरेका सलह किरा शुरुमा नेपालका ४० भन्दा बढी जिल्लामा फैलिएका थिए । चितवन, पाल्पा, मकवानपुर, अर्घाखाँची जिल्लामा करौंडोको बालीनाली नष्ट गरेका किरा बिस्तारै आफैं हराएका छन् । नेपालमा पछिल्ला दिन भने सलहले केही क्षति नगरेको वा कतै झुण्ड नदेखिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।

हिमाल, पहाडतिर चढेका कतिपय किरा आफैं कठ्याङ्ग्रिएर मरेका छन् भने कतिपय डुल्दाडुल्दै हराएको मन्त्रालयले दावी गरेको छ । कतिपय ठाउँमा झुृण्ड–झुण्डमा रहेका सलह आफै तितिरवितिर भएका छन् । कहिकतै एक दुईटा देखिएपनि झुण्डमा कतै देखिएको छैन तर भारतबाट फेरि ठूलो झुण्ड नेपाल प्रवेश गर्ने खतरा रहेको उनले बताए । उक्त झुण्ड नेपाल–भारतको सीमा क्षेत्रमा आइसकेको र जुनसुकै बेला पनि नेपाल छिर्न सकिने अवस्था रहेको उनले बताए । त्यसका लागि प्रदेश तथा स्थानीय तहलाई सतर्क रहन सर्कुलर पठाइसकिएको पनि उनले बताए ।