सरकारको आग्रहः सलहको जोखिम टरेको छैन सतर्क रहौं

206

असार १६,
काठमाडौं । सलहले ठाउँ परिवर्तन गरिरहेका हुनाले जोखिमलाई मध्यनजर गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीनदिनको मौसमको पूर्वानुमान पूर्व र दक्षिणतर्फ हावाको बहाव हुने भएकाले सलहप्रति सचेत रहन आग्रह गरिएको हो ।

सलहको झुण्ड हावाको वहावसँगै स्थानान्तरण गर्ने भएकाले मध्य र पश्चिम नेपालका तराई तथा अन्य जिल्लाहरुमा स्थानान्तरण गर्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
आज पनि देशभरी पूर्वी र दक्षिण पूर्वी वायुको प्रभाव रहने सम्भावना छ । र, केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । यस्तै अवस्था बिहीवारसम्म रहने भएकाले सतर्क रहन सर्वसाधारणलाई केन्द्रले आग्रह गरेको छ ।