जेठ ३२,
काठमाडौं । भोलिबाट सबै प्रकारका निजी सवारी साधनमा जोर विजोर प्रणाली लागु हुने भएको छ। यसअघि सवारीसाधानमा जोर विजोर लागू गर्नेबार गृहमन्त्रालय र ट्राफिक प्रहरीबीच विवाद थियो। तर भोलिदेखि ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन सबैमा जोर विजोर प्रणाली लागु गर्ने टुंगो भएको छ। मोटरसाइकल र स्कुटरमा पनि जोरबिजोर प्रणाली लागू हुने भएको हो। गृह मन्त्रालयले सबै निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी सम्वद्ध निकाएलाई परिपत्र गरिएको थाहा सञ्चारलाई जानकारी दिएका छन्। यसअघि मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा एक जना मात्रै सवार हुनुपर्ने निर्णय गरे पनि जोर विजोर लागू हुने या नहुने स्पष्ट गरेको थिएन। जसका कारण सर्वसाधारणमा अलमल थियो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि भोलिबाट सबै प्रकारका निजी सावारीमा जोर–विजोर प्रणाली लागु हुने बताएका छन्। दाहालले मन्त्रिपरिषद्कै निर्णयले सबै निजी सवारी साधनमा यो प्रणाली लागु हुने बताएका छन्। उनले मन्त्रिपरिष्दको निर्णय कार्यन्वयनका लागि गृहले सर्कुलर गरेको जानकारी दिएका छन्। यो प्रणाली अनुसार जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधन सञ्चालन हुने छन्। यस्तै ट्राफिक प्रहरीले पनि भोलीबाट जोर–विजोर प्रणाली लागु गराउन गृहमन्त्रालयले निर्देशन गरेको जनाएको छ।