इतिहास ब्रेकः कच्चा तेलको मूल्य पहिलोपटक ऋणात्मक

380

वैशाख ९
काठमाडौं । अमेरिकी कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक शून्यभन्दा पनि तल (ऋणात्मक) भएको छ । कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम भएकाले तेलको मूल्यमा भारी गिराट आएको बीबीसीले लेखेको छ । यो गिरावटको अर्थ हो, तेल उत्पादक देश अब खरिदकर्तालाई पैसा दिएर तेल किन्न अनुरोध गरिरहेका छन् । किनभने उनीहरुलाई अब डर छ कि अब तेल बिकेन भने भण्डारणको समस्या बढ्छ ।

लकडाउनका कारण विश्वभरका मानिसहरु घरभित्रै बसिरहेका छन् । तेलको माग घट्नुको एउटा प्रमुख कारण यही हो । भण्डारण गर्ने ठाउँ नभएपछि तेल कम्पनीहरुले ट्यांकर भाडामा लिइराखेका छन् ताकि बढी भएको तेल ट्यांकरमा भए पनि राख्न सकियोस् । तर, यसको असर अमेरिकाको कच्चा तेलको मूल्यमा परेर शून्यभन्दा पनि तल झरेको छ । तेलको मूल्यमा ऐतिहासिक गिरावट आउनु धेरैजसोका लागि चासोको विषय भएको भन्दै ट्रम्पले अमेरिकी सरकारले तेलको मूल्य सही बाटोमा ल्याउने दाबीसमेत गरेका छन् ।

वेस्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई), जसलाई अमेरिकाको तेलको बेन्चमार्क मानिन्छ, मा मूल्य घटेर माइनस ३७.६३ डलर प्रतिब्यालेर पुगेको छ । सोमबार आएको यो गिरावटको असर विश्वभरका तेल बजारमा पनि परेको छ । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्य ८.९ प्रतिशत घटेको छ । यहाँ तेलको मूल्य घटेर २६ डलर प्रतिब्यारेल भएको छ ।
तेल उद्योगहरु थोरै माग र उत्पादकबीच उत्पादन कम गर्नेुपर्ने विषयमा सुरु भएको बहसका कारण पहिलेदेखि नै समस्यासँग जुधिरहेका छन् ।