बैशाख ८,
काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधनगरेपछि राजनीतिक दलमा हलचल मच्चिन थालेको छ । कतिपयले भने नेकपा नै विभाजन हुने पो हो की भन्ने आंशका गर्न थालेका छन् । दल विभाजनसम्बनधी अध्यादेश मन्त्रिपरिषदबाट पारित भएलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हाइकमाण्ड मानिने सचिवालय बैठक बस्दैछ । उक्त बैठकमा यसबारे गम्भीर छलफल हुने नेताहरुले बताएका छन् । नेकपाको नौ सदस्यीय सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल रामबहादुर थापा बादल रहेका छन् ।
जसमध्ये पूर्व माओवादीका ३ र पूर्व एमालेका ६ जना छन् । तर पछिल्लोे समय नौ सदस्यीय सचिवालयमा प्रचण्ड पक्षमा सात र ओली पक्षमा ओलीसहित ईश्वर पोखरेल गरेर २ जनामात्र छन् ।
महासचिव विष्णु पौडेलले समेत ओलीको साथ छोडेका छन् । मन्त्रिपरिषद्को बैठक लगत्तै प्रचण्डको अग्रसरतामा सचिवालय बैठक बोलाइएको हो। यसले के निर्णय गर्दछ भन्नेमा सबैको ध्यान गएको छ ।














