कोरोना फैलिएका राष्ट्रहरुमा उडान रोक्ने सरकारको तयारी

165

फागुन १८,
काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना फैलिएको राष्ट्रहरुमा आवागमन रोक्ने विषयमा सरकारले छलफल गर्ने तयारी गरेको बताएका छन् । मन्त्री ढकालले सरकारले कोरोना भाइरसको संक्रमण फैलिएका राष्ट्रहरुमा आवातजावत रोक्ने विषयमा छलफल थालेको बताए । स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ढकाले यस बारेमा जानकारी दिएका हुन् । ‘अन्तर्राष्ट्रिय क्षेत्रबाट उडान हुने देशहरुमा कतिपय देशले घोषित रुपमै त कतिपय देशले अघोषित रुपमा उडानहरु रोकेका छन्,’ स्वास्थ्य मन्त्री ढकालले भने, ‘केही मुलुकहरुमा जान प्रतिबन्ध लगाउने विषयमा औपचारिक रुपमा घोषणा गर्ने कि भनेर हाम्रो छलफल भएको छ ।’

सरकारले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले कोरोना प्रभावित क्षेत्रमा हुने आवागमन रोक्ने विषयमा केही दिन भित्रै निर्णय गर्ने स्वास्थ्य मन्त्री ढकालले बताए । मन्त्री ढकालले स्वदेश भित्रिने मात्र नभएर नेपालबाट बाहिरिने यात्रुको पनि विमानस्थलमा स्थास्थ परीक्षणपश्चात पठाइने गरेको जानकारी दिए । नेपाल भित्रिने पर्यटकहरु विमानस्थलमा ज्वरो परीक्षण गरेपछि उनीहरुको अवस्थाबारे सरकारलाई नै जानकारी नभएको भन्दै धेरैले आलोचना गरेको भन्दै स्वास्थ्य मन्त्री ढकालले नेपाल भित्रिने पर्यटकको विमानस्थलमै विवरण संकलनको व्यवस्थापन समेत गर्न लागेको जानकारी दिए ।