प्रहरीमा मेस सुधार अभियानः जगातीका ‘डीएसपी जोशी’लाई पुरस्कार

1329

फागुन १०,
भक्तपुर । नेपाल प्रहरीमा अधिकृत र जवान कर्मचारीको भान्छा एकै थलोमा हुने भएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीनै जिल्लामा रहेका प्रहरी इकाइहरुमा मेस सुधार अभियान सुरु गरेको हो । भक्तपुरको रहेको महानगरिय प्रहरी वृत्त जगातीमा प्रहरी अधिकृत एवं प्रहरी जवान संयुक्त मेस कार्यक्रमको प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्व राज पोखरेलले शनिबार शुभारम्भ गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक पोखरेलले भने ‘विगतमा एउटै काम, उहिँ बर्दी भएपनि तीन प्रकारका भान्छा (मेस) थिए, तर अब हामीले क्रमश त्यो हटाउदैं लगेका छौं ।

प्रहरीको व्यवसायीकतालाई सुधार गर्न मेस, आचरणसंगै धेरै कुरा क्रमश सुधार गर्दै जानुपर्ने समेत प्रहरी नायव महानिरीक्षक पोखरेलको भनाई रहेको छ । कार्यक्रममलाई सम्बोधन गर्दै उनले भने ‘अधिकृतदेखि जवान सबैजना संगै बसेर खाना खादा आत्मियता बढ्छ, संगठनको पद्धतिमा रहेर एक अर्काको सम्मान गर्ने परम्परालाई सहयोग पुग्छ । ’
प्रहरीको आचरणलाई सुधार गरौं भन्दै पहिलो चरणमा मेस सुधार गर्न थालिएको पोखरेलको भनाई छ ।
केही समयपछि प्रहरीहरु जवान र हवल्दार लाई लुगा धुन सहज होस् भनेर वासिङ्ग मेशिसन दिने तयारी भईरहेको पोखरेलले बताए । ‘मेस सुधारको कार्य अन्यत्र जिल्लामा समेत क्रमश लागू गर्दै जाने तयारी प्रहरीले गरिरहेको छ,’ पोखरेलले भने ।

वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) चक्रराज जोशीका अनुसार वृत्तमा मेस सुधार अन्तरगत भान्छा, पिउने पानीको धारा, खाना खाने कोठालगायतका पूर्वाधारहरुको सुधार गरिएको छ । सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेले मेस सुधारको राम्रो काम गरेको भन्दै वृत्तका प्रमखु डीएसपी जोशीलगायतका प्रहरी कर्मचारीलाई सम्मान गर्दै पुरस्कार प्रदान गरेका छन् । भक्तपुर रहेको प्रहरी वृत्त थिमीमा अघिल्लो महिना मेस सुधार अभियान सुरु भएको थियो । हालसम्म उपत्यकामा चार प्रहरी इकाइमा हालसम्म यो कार्यक्रम लागू भई सकेको छ ।