कोरोना त्रासः क्वारेन्टाइनमा बस्नेले यस्तो नियम मान्नु पर्दछ

172

फागुन २,
काठमाडौं । सरकारले चीनको वुहानबाट नेपाली ल्याउन आइतवार नेपाल वायुसेवा निगमको वाइडबडी ए-३३० जहाज पठाउने भएको छ। चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई जहाजमार्फत स्वदेश ल्याउन लागिएको हो। हुवेई प्रान्तका विभिन्‍न शहरबाट १ सय ८५ नेपाली विद्यार्थी स्वदेश फर्कने भएका छन्। हुवेइ प्रान्तको वुहानलगायत शहरबाट १८५ नेपालीले स्वदेश फर्कन त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । वुहान प्रान्तमा सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक कोरोना भाइरस पत्ता लागेको थियो। चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा र चिकित्सकको निगरानीमा राखिनेछ। कोरोना भाइरस नदेखिए पनि सार्वजनिक भेटघाटका लागि जान दिइने छैन। उनीहरुलाई नेपाल उतारिएको २४ घन्टा भित्र एक पटक कोरोना परीक्षण गरिनेछ। क्‍वारेन्टाइनमा राखिएको १४ दिनमा फेरि अर्को पटक कोरोना परीक्षण गरिने छ। परीक्षण नेगेटिभ आए मात्रै घर पठाइने तयारी सरकारको छ।

फर्किने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज शनिबार दिउँसो चीन जाने भएको हो। चीन जाने विमान चालक र अन्य कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष तालिम दिइसकेको छ। वुहान जाने टोलीमा तीनजना विमान चालक, ६ जना क्याबिन क्रू, दुईजना इन्जिनियर, १/१ जना फ्लाइट डिस्प्याचर र लोड मास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन्। सेनाका चार स्वास्थ्यकर्मी चीन जाने विद्यार्थी लिन जाने विमान चालक दलका सदस्यसहित चारजना नेपाली स्वास्थ्यकर्मी चीन जाने भएका छन्। दुईजना चिकित्सक, एक नर्स र प्यारामेडिकलाई चीन पठाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका आपतकालिन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख सागर दाहालका अनुसार चीन जाने चिकित्सक तथा चालक दलका सदस्यहरुलाई मन्त्रालयको व्यवस्थापन महाशाखाका चिकित्सक र प्रहरी अस्पतालका चिकित्सकले तालिम दिइरहेका छन्।

यसरी ल्याइँदैछ हुवेई प्रान्तको विभिन्‍न शहरका नेपाली विद्यार्थीलाई वुहानमा भेला गरिनेछ। चीनबाट ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा राखिनेछ। चीनबाट आउनेलाई राख्‍न खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणका ४ वटा भवनमा प्रत्येक कोठामा ३ जनालाई राखिने गरि व्यवस्थानपन गरिएको छ । उक्त क्वारेन्टाइनमा डाकटर, नर्स, औषधीकर्मी र चालक १/१ जना २४ घण्टा तैनाथ हुनेछन् । सुरक्षाका लागि भवनभन्दा बाहिर गेटमा नेपाली सेना, शस्शत्र प्रहरी र नेपाल प्रहरी रहने छन् ।