भक्तपुरको ख्वप कलेजमा शैक्षिक प्रदर्शनी

311

माघ २२,
भक्तपुर । भक्तपुरको देकोचास्थित ख्वप कलेजमा बुधबारदेखि तीनदिने शैक्षिक प्रदर्शनी सुरु हुने भएको छ । ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि २४ गतेसम्म तीनदिने प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंबाट हुने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

कलेजका प्राचार्य रुपक जोशीले यो पटक प्रदर्शनीको अवलोकन करिव १० हजारले गर्ने अपेक्षा राखे । प्रत्येक वर्ष हुँंदै आएको प्रदर्शनीको क्रममा गतवर्ष करिव आठ हजारले अवलोकन गरेको उनले स्मरण गरे । प्रदर्शनी अवलोकन गर्न काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर अनि भक्तपुरलगायत उपत्यकाबाहिरका स्कुल कलेजहरुबाट पनि अवलोकनकर्ता विद्यार्थी आउने उनले जनाए । अवलोकन प्रवेश निशुल्क हुनेछ । प्रदर्शनीमा कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँंच वटा संकायमा कक्षा ११ देखि स्नातकोतर तहसम्मका विद्यार्थीले स्टलहरु राख्नेछन् ।
यसअघि प्रदर्शनीका लागि एक सय ५७ सदस्यीय वार्षिकोत्सव तयारी समिति गठन गरिएको थियो । वार्षिकोत्सव मुल उपसमिति, प्रचारप्रसार, वुलेटिन प्रकाशन, मञ्च तथा टेण्ड व्यवस्थापन, छपाई, सचिवालय व्यवस्थापनलगायतका २१ वटा उपसमितिहरु गठन गरिएका थिए ।

प्रदर्शनीको पूर्वसन्ध्यामा भक्तपुर जिल्लास्तरीय विभिन्न प्रतियोगिताहरु पनि माघ ११ गतेदेखि सुरु भएका थिए । कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीवीच बक्तृत्वकला, चित्रकला, हाजिरी जवाफ, बास्केटवल प्रतियोगिताहरु कलेज प्रांगनमा भइरहेका छन् । साथै यस अवसरमा विभिन्न आन्तरिक प्रतियोगिताहरु पनि जारी छन् । -कृष्ण किसीको सहयोगमा