ओली-देउवाको एउटै स्वर

322

माघ १४,
काठमाडौं । चर्को विवादमा परेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारेमा सत्तारुढ र प्रतिपक्षीको स्वर मिलेको छ। एमसिसीका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नै दुई ध्रुबमा विभाजित भएकाले मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी पास गर्नैपर्ने कुरा बताए। ओलीले समय तीव्र गतिमा अघि बढेकाले अब रोकिन नहुने बताउँदै एमसिसी संसदबाट पास गर्ने प्रष्ट पारे। ओलीले अब ढिलो भइसकेको पनि जिकिर गरे। ‘हामी ढिलो भइसकेका छौँ, सभामुख चयनमा ढिला गर्‍यौँ’, उनले भने, ‘हाम्रा कामहरुलाई संसदले पनि सरकारले पनि तीव्र गतिमा अगाडि बढाउन जरुरी छ। अब ढिला गरेमा हामी पछाडि पर्छौँ।’

ओलीले एमसिसी यही हिउँदे अधिवेशनबाट पारित हुने उल्लेख गरे। ‘धेरै अगाडिदेखि बढ्दै आएको ६/७ प्रधानमन्त्री गुजार्दै आएको एमसिसी पारित गर्नुपर्ने छ। योसँगै अरु विषय पनि पारित गर्नु छ।’ ओलीले हिउँदे अधिवेशनमा अलिकति समय खेर गए पनि अब खेर जान नदिएर अगाडि बढ्नुपर्ने ओलीले जोड दिए। सभामुखलाई बधाई भाषणका क्रममा ओलीले देउवाका कुरा चाख मानेर सुनेका थिए। त्यसक्रममा देउवाले बोलिसकेपछि दुईजनाबीच संसदमै गफ पनि भएको थियो। देउवाले मिलाए लय प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसिसी संसदबाट पास गर्नैपर्ने बताए। नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाई दिन प्रतिनिधि सभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले बोलेलगत्तै बोलेका उनले एमसिसीकै कारण नेपालमा सबैभन्दा धेरै पैसा आएको पनि जिकिर गरे। ‘एमसिसीबाट यति ठूलो सहयोग आएको छ। यस्तो सहयोग अमेरिकाबाट कहिले आएको थिएन’, उनले भने, ‘यस्तो आर्थिक सहयोग सदुपयोग गर्नुपर्छ। बिजुलीको लाइन विस्तारमा हामीले यसलाई सदुपयोग गर्नुपर्छ।’